विदेश

माल्दिभ्समा भारत पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर भनाभन

काठमाडौं, एजेन्सी, भदौ १६-साउथ एसियन स्पीकर्स समिटमा सहभागी हुने क्रममा भारतीय राज्यसभाका उपसभामुख र पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखबीच कश्मीरको विषयलाई लिएर माल्दिभ्समा वादविवाद भएको छ।

पाकिस्तानको संसदको तल्लो संदनका उपसभामुख क्वासिम सुरीले आफ्नो सम्बोधनका क्रममा कश्मीरी जनतामाथिको ‘उत्पीडन’ लाई वेवास्ता गर्न नसिकने बताएपछि भनाभन भएको थियो।

कश्मीरी जनताको समस्यामाथि विश्व समुदायले आँखा चिम्लन नमिल्ने बताउँदै सुरीले कश्मीरका उत्पीडित जनतासँग पाकिस्तानसँगै उभिएको बताएका थिए। उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को संकल्प र कश्मीरी जनताको इच्छाको आधारमा कश्मीरको समस्या समाधान हुनुपर्ने जिकिर गरेका थिए।

लगत्तै भारतीय राज्यसभाका उपसभामुख हरिवंश नारायणसिंहले आपत्ति जनाउँदै आफ्नो कुरा राख्न माग गरेका थिए जसलाई माल्दिभ्सका सभामुख मोहमद नासिदले अनुमति दिएका थिए।

सिंहले भने, ‘यो फोरममा भारतको आन्तरिक मामिला उठाइएकोमा आपत्ति जनाउँदछौँ । यो समीटको उद्देश्यभन्दा बाहिरको मुद्दालाई उठान गरेर यो फोरमलाई राजनीतिकरण गरिएको स्वीकार्य छैन।’

‘यो क्षेत्रको शान्ति र स्थायित्वका लागि पाकिस्तानले अन्तर–सीमा आतंकवादलाई समर्थन गर्न बन्द गर्नुपर्छ,’ उनले भने।

सिंहले फोरममा दिगो विकास लक्ष्यको बारेमा मात्र छलफल हुनुपर्ने बताउँदै सुरीको अभिव्यक्तिप्रति आपत्ति जनाए।

लगत्तै, पाकिस्तानकी सांसदका सदस्य क्वारातुलाइन मारीले कश्मीरमा भइरहेको ज्यादतीतर्फ लक्षित गर्दै मानव अधिकार पनि दिगो विकासको अंग भएको बताएकी थिइन्।

यता, सिंहले पाकिस्तानमाथि नरसंहार गरेर नयाँ देश खडा गरेको आरोप लगाउँदै इश्लामादसँग कश्मीरको मुद्दा उठाउने नैतिक हैसियत नभएको बताए।

गत अगस्त ५ मा नयाँ दिल्लीले जम्मु र कश्मीरलाई प्रदान गरिएको विशेष अधिकार खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। पाकिस्तानले यसलाई अन्तर्राष्ट्रिय मुद्दा गराउने प्रयास गरिरएको छ भने भारतले यसलाई आन्तरिक मामिला बताउँदै आएको छ।

Featured