देश

बहमासमा आधुनिक समयकै शक्तिशाली आँधी

एजेन्सी, भदौ १६–आधुनिक समयकै सबैभन्दा शक्तिशाली मानिएको डोरिअन समुद्री आँधी उत्तर पश्चिमी बहमासमा पुगेको छ । प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा रहेको डोरिअन क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी हो ।

समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय एनएचसीका अनुसार डोरिअन आधुनिक तथ्यांक राख्न थालिएयताकै सबैभन्दा खतरनाक समुद्री आँधी हो । ग्र्यान्ड बहामाका बासिन्दाहरूलाई आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ।

स्थानीय समयानुसार दिउँसो १२ बजेर ४० मिनेटमा आँधी उत्तरी बहामसमा पर्ने एबाको टापुको एल्बोकी पुगेको थियो। स्थानीय बासिन्दाहरूले केही घरहरूमा बाढी पसेको र आँधीले घरका छाना उडाएको दृश्य सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

डोरिअन आँधी ग्रेट एबाको टापु र नजिकका क्षेत्र ग्रान्डा बहामा टापुमा आइतबार अबेरराति र सोमबार बिहानसम्म पुग्ने अपेक्षा गरिएको छ । अधिकारीहरूले टापुका केही विमानस्थल बन्द गराए पनि प्रमुख विमानस्थल खुला राखिएको छ। बहामसपछि डोरिअन आँधी अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा स्थानीय समयानुसार सोमवार अबेर प्रवेश गर्ने अनुमान गरिएको छ।

यसअघि बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले ग्रान्ड बहामा र एबाको टापुका कतिपय स्थानबाट मानिसहरूलाई अन्यत्र सार्न आदेश दिएका थिए भने सबै पर्यटकहरूलाई त्यहाँबाट बाहिर जान आदेश दिइएको थियो।