देश

बस्ती पसेका गैडा उद्धारमा सकस

चितवन, भदौ १६–वनमा घुम्ने गैंडा साउन ३२ गते बिहान भरतपुर–९ स्थित केन्द्रीय बसपार्क आडैमा रहेको टोलमा देखियो । बजारक्षेत्रमा गैडा आएपछि गैंडाको नजिक पुगेर फोटो खिच्ने र हेर्नेको भीड बढ्यो । भीड र होहल्ला बढ्दै जाँदा गैंडा यताउता दौडियो।

बसपार्क नजिकै रहेको प्लटिङको झाडीमा लुक्यो। झाडीमा लुकेको गैंडा जुनसुकै बेला निस्कन सक्ने खतरा भएकाले स्थानीयले यसबारे चितवन राष्ट्रिय निकुञ्जलाई जानकारी गराए। बसपार्कदेखि दक्षिण र पूर्वतर्फ केही पर बरन्डाभार जंगल छ। वन छाडेर बसपार्कसम्म पुग्न करिब पाँच किलोमिटर दुरी पार गर्नुपर्छ।

बजारक्षेत्रमा गैंडा आएर बसेको जानकारी पाएपछि उद्धार गर्न निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र (एनटिएनसी) का कर्मचारी खटिए। बिहान आठ बजे बसपार्क क्षेत्र पुगेको कर्मचारी टोलीले मध्याह्नबाट मात्र काम सुर गर्यो। उद्धार टोलीमा प्राविधिक, कर्मचारीसँगै ६ वटा हात्ती पनि थिए।

हात्तीमा चढेर गैंडा लुकेको झाडीतर्फ प्राविधिक गए। गैंडालाई डार्ट हान्ने, बेहोस बनाउने, खोर भएको ट्रकमा राख्ने काम गर्दा साँझ पर्न लागिसकेको थियो। बेहोस बनाएर नियन्त्रणमा लिइएको करिब २२ वर्षको भाले गैंडालाई भरतपुरबाट २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने चितवन निकुञ्जको मुख्यालय कसरा नजिकको तमोर ताल क्षेत्रमा लगेर छाडियो। चालु आर्थिक वर्षमा निकुञ्जले पहिलोपटक साउनमा बस्तीबाट गैंडा उद्धार गरेर वनमा लगेर छाडेको हो।

गत आर्थिक वर्षमा निकुञ्जले पाँचवटा गैंडा उद्धार गरेको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरे बताउँछन्। चारवटा भाले र एउटा पोथी गैंडाको उद्धार गरिएको उनले जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured