देश

कलवार पक्राउ, सम्पत्ति शुद्धीकरणबाट छानबिन सुरु, बैंक खाता रोक्का

काठमाडौं, भदौ १६–थोरै ऋण दिई धेरै दिएको भनी कागज गराई जनतासँग ठगी गरेको आरोप लागेका सर्लाहीका श्यामकृष्ण शाह कलवार आइतबार साँझ पक्राउ परेका छन्।

सर्लाही जिल्लाका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले कलवारलाई नियन्त्रणमा लिएर छानबिन थालिएको जानकारी दिए ।कलवारमाथि सम्पत्ति शुद्धीकरण विभागले समेत छानबिन सुरु गरेको छ। तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलंगवा नगरपालिका बस्ने कलवारमाथि अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गरेको हो।

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक रूपनारायण भट्टराईले कलवारले विगतदेखि नै ठगी गर्दै आइरहेको क्रियाकलाप आँकलन गर्दै सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएको जानकारी दिए। उनले भने, ‘सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ ऐन, २०६४ अनुसार उनले ऋण लिएकाबाट असुल गर्नुपर्ने भन्दा बढी रकम असुल गरेको पाइएपछि छानबिन थालिएको हो। सम्पति शुद्धीकरण विभागले कलवारका विभिन्न बैंकमा रहेका सबै खाताहरू रोक्का गरी छानबिन थालिएको जनाएको छ।

विभिन्न समयमा बलात्कार र ठगीको आरोपमा पक्राउ पर्दै छुट्दै आएका कलवारमाथि सर्लाहीका २ सय ९९ जनालाई ठगी गरेको आरोप छ। सर्लाहीका नेकपाका इन्चार्ज डाचाराज वाग्लेका अनुसार २०७२ सालमा नाकाबन्दीका बेला बैंकले ऋण नदिएपछि सर्लाहीका थारू जातिहरूले उनीसँग ऋण लिएका थिए।

किसानलाई १० प्रतिशतदेखि २३ प्रतिशतसम्म अतिरिक्त रकममा सहीछाप गराई कर्जा दिएको बाग्लेले बताए । कलवारले त्यसबाहेक पनि १ लाख रुपैयाँ दिई ४ लाखसम्म असुल गर्दै आएका थिए। यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured