खेलकुद विदेश

स्पेनिस ला लिगा : रियल मड्रिडलाई भियारियलले २–२ गोलको बराबरीमा

काठमाडौं, भदौ १६–स्पेनिस ला लिगामा रियल मड्रिडलाई भियारियलले २–२ गोलको बराबरीमा रोकेको छ । भियारियालको मैदानमा भएको खेलमा घरेलु टोलीका जेरार्ड मोरेनो र मोइ गोमेजले एक एक गोल गरे । तर रियल मड्रिडका ग्यारेथ बेलले दुई गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

रियलका लागि पहिलो हाफको अतिरिक्त समय र दोस्रो हाफको ८६ औं मिनेटमा गोल गरेका थिए । तर उनी अन्तिम समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ला लिगाकै अर्को खेलमा एथ्लेटिको मड्रिडले आइबारलाई ३–२ ले हराउँदै शीर्ष स्थानमा कायम रहेको छ । अन्य खेलमा भ्यालेन्सियाले मयोर्कामाथि २–० को तथा ग्रानाडाले इस्पानियोलमाथि ३–० को जित निकाल्यो ।

आइतबार रातिका खेलहरुपछि स्पेनिस लिगको अंकतालिकामा ३ खेलबाट ९ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ भने ७–७ अंक जोडेका एथ्लेटिक बिल्बाओ र सेभिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । ५ अंक जोडेको रियाल मड्रिड पाँचौं स्थानमा रहँदा ४ अंकसहित बार्सिलोना आठौं स्थानमा छ ।

Featured