देश

नयाँ बानेश्वरमा अकासे–पुल निर्माण सुरु

काठमाडौं, भदौ १५–विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा अकासे(पुल निर्माण सुरु भएको छ ।

अकासे(पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । बिचमा फलाम र दुवैतर्फ कंक्रिट भएको अकासे पुल निर्माण गर्न लागिएको डिभिजनका प्रमुख कैलाशकुमार श्रेष्ठले बताए ।

उक्त स्थानमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय अगाडि रहेको पुल जस्तै डिजाइनमा पुल निर्माण हुनेछ । पुल निर्माण तोकिएको अवधिभन्दा पनि चाँडो सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । उनले भने, ‘पुलको निर्माण सकेसम्म चाँडो सम्पन्न गर्न हामीले ठेकेदार कम्पनीलाई भनिरहेका छौँ ।’

२ करोड ५० लाख बजेटमा कात्तिकसम्ममा सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएपछि अहिले काम सुरु भएको डिभिजनले जनाएको छ । नयाँबानेश्वर जस्तै कोटेश्वर र बबरमहलस्थित जिल्ला अदालत अगाडि अकासे(पुल निर्माण गर्ने योजना रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । कोटेश्वरमा अकासे(पुल निर्माणका लागि बजेट भए पनि उपयुक्त स्थानको खोजी भइरहेको छ । उनले भने, ‘स्थान छनोट हुनासाथ ठेक्का प्रक्रिया अघि बढ्नेछ ।’ (रासस)

Featured