देश

मर्चवारी गाउँपालिकाका सवै विद्यालयमा शिक्षक अभाव

बुटवल, भदौ १५–रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिकामा १५ सामुदायिक विद्यालय र ५ वटा मदरसा छन् । तत्कालीन सिलवटिया, रायपुर, सेमरा र बगोलीलाई मिलाएर बनाइएको यस गाउँपालिका रुपन्देहीको दक्षिण भेगमा छ ।

१५ मध्ये ५ वटा माध्यमिक विद्यालय छन् । तर गाउपालिकाका प्राय सवै विद्यालयमा शिक्षकको अभाव छ । जसका कारण विद्यार्थीको पठनपाठन बर्षेनी प्रभावित बन्दै गएको छ । मावि तहका विद्यालयको अवस्था झन विजोग छ ।

भैतिक संरचनाको अभाव, शिक्षक अभाव, शैक्षिक सामाग्री सवैको अभाव गाउपालिकामा रहेका विद्यालयहरुमा छ । विद्यालय व्यवस्थापन समिति र अध्यापनरत शिक्षकले विद्यालयको विकासमा सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गरेका छन् ।

विद्यार्थी छन्, शिक्षक छैनन्
मर्चवारी गाउँपालिका–२ मा रहेको अमवाँ माविमा ५ सय ६८ विद्यार्थी छन् । जस मध्ये बालविकासमा मात्र ८३ विद्यार्थी अध्ययनरत छन् । तर ५ सय ६८ विद्यार्थी रहेको विद्यालयमा जम्मा ३ शिक्षकको दरबन्दी छ ।

तर शिक्षक सबै प्राथमिक तहका हुन् । २००७ सालमा स्थापना भएको विद्यालयमा शिक्षक अभावले पठनपानमा समस्या छ । विज्ञापन गरेरै पनि शिक्षक माग गरेपनि सरकारले शिक्षक दिएको छैन ।

अमवा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद इशालका अनुसार विषगत शिक्षक नहुँदा एउटै शिक्षकले सवै विषय पढाउनुपर्ने बाध्यतो छ । सोही गाउँपालिकाको वडा नम्वर ५ को ओडवलियामा रहेको श्री जनता माविमा कक्षा १२ सम्म अध्यापन हुन्छ ।

प्रावि तहमा रहेका शिक्षक मध्ये ४ शिक्षक विस्थापित भएपछि विद्यालयमा शिक्षकको समस्या छ । ११ सय विद्यार्थी अध्ययनरत विद्यालयमा ४ निजी श्रोतका शिक्षक छन् । त्यसैगरी २०१९ सालमा स्थापना भएको ठर्की मावि वडा नम्वर ६ मा पर्छ ।

एउटै कक्षामा १ सय २५ विद्यार्थीसम्म राखेर अध्यापन भइरहेको ठर्की माविमा पनि शिक्षकको समस्या त्यस्तै छ । ‘शिक्षकका लागि गाउँपालिकामा धाउँदा शिक्षक पाउन सकिएको छैन,’ ठर्की माविका प्रधानाध्यापक बलराम यादव भन्छन, ‘शिक्षकनै नहुँदा गुणस्तर समेत खस्कदै गएको छ ।’

वडा नम्वर ३ मा रहेको श्रीमती मनराजी देवी माविमा पनि शिक्षक अभाव छ । विद्यालयमा शिक्षक भएपनि कोही अवकाश पाएर विदा भए । कोही अन्यत्र नाम निकालेर गए । दरबन्दीका शिक्षक पनि विद्यालयमा राखिरहन नसक्दा अध्यापनमा समस्या आइरहेको विद्यालयमा कक्षा १२ सम्म १ हजार ७ सय विद्यार्थी पढ्छन् ।

वडा नम्वर ७ बगौलीमा रहेको बगौली माविमा पनि ११ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १० मा मात्रै १ सय २५ विद्यार्थी छन् । विद्यालयमा ७ शिक्षकको प्रावि दरबन्दी छ । तीमध्ये १ पद रिक्त छ । जम्मा ६ जनाले अध्यापन गरिरहेका छन् ।

निमावि तहमा एक दरबन्दी र सिकाई अनुदानका एक शिक्षक छन् । धेरै विद्यार्थी भएर पनि शिक्षक अभावले पठनपाठनमा समस्या भएको बगौली माविका प्रध्यानाध्यापक राम सुमिर कुर्मीले बताए । ‘भौतिक पुर्वधार समेत राम्रो छैन्, शिक्षकहरु समेत नहुँदा बर्षेनी पाठ्यक्रम पुरा हुँदैन,’ बगौली माविका विद्यार्थी रामकेश यादवले भने ।

जिल्ला शिक्षा समन्वय इकाईले टेरेन
मर्चवारी गाउपालिकाका अध्यक्ष केशव नन्द बनिया जिल्ला शिक्षा समन्वय इकाईले नटेरेको बताउँछन् । जनप्रतिनिधि नआउदा पनि विद्यालयको हालत अहिलेको अवस्थामा रहेको बताउँदै उनले शिक्षामा शिक्षक माग गरेपनि भोलि भोलि भन्दै टारेको उनले बताए ।

केन्द्र सरकारको कमजोरी
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल विद्यालयहरुमा शिक्षक दरबन्दी नभएको स्वीकार गर्छन । संघीय सरकारले दरबन्दी मिलान टुंगाएपछि मात्र प्रदेशले मातहतका जिल्लामा दरबन्दी मिलान गराउने उनले बताए ।

‘संघीय सरकारले दरबन्दी मिलानमा एउटा समिति बनाएको छ । त्यो समितिले सरकारलाई अझै सुझाव सहितको प्रतिबेदन बुझाएको छैन । प्रतिबेदन कार्यान्वयन भएपछि बल्ल हामीले प्रदेशमा शिक्षक दरबन्दी मिलान गर्छौ,’ उनले भने ।