विदेश

हङकङमा निरन्तर प्रदर्शन जारी

एजेन्सी, भदौ १५–चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा निरन्तर प्रदर्शन जारी छ । शनिवार प्रजातन्त्रवादी प्रदर्शनकारीकारीले प्रहरी घेरा तोड्दै प्रदर्शन गर्ने क्रममा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचारमा संलग्न चिकित्सकले पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका हुन् ।

भर्ना गरिएका ३१ जनामध्ये १८ जना अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने थप आठजनाको अवस्था स्थिर रहेको बताइएको छ । प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपपछि युद्धमैदान जस्तो बनेका हङकङका केही मेट्रो स्टेशनहरू आइतवार बन्द भएका छन् ।

प्रहरीले एउटा मेट्रो स्टेशनमा प्रवेश गरेर धरपकड गरेको र पिरो वस्तु छरिदिएको बताइएको छ । प्रदर्शनमा सहभागी भएका ४० जनालाई प्रहरीले एकै ठाउँबाट पक्राउ गरेको थियो । अदालतले एक आदेश जारी गर्दै प्रतिबन्ध लगाएको भए पनि प्रदर्शनकारीहरूले अन्तर्रा्ष्ट्रिय विमानस्थल वरपरका सडकहरू बन्द गर्ने योजना बनाएका थिए ।

लामो समयदेखि प्रदर्शन जारी रहेको हङकङका अधिकारीहरूले कानुनी शासन कायम गराउने बताउँदै जनताहरुलाई हिंसा अस्वीकार गर्न आग्रह गरेका छन् । चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले सो भूभाग नियन्त्रण बाहिर जाने खतरा बढेको भन्दै कानुन स्थापित गरिनुपर्ने समय आएको बताएका छन् ।

Featured