खेलकुद

प्रदेश २ मा नेपाल क्रिकेट संघको नयाँ समिति

जनकपुर, भदौ १५–प्रदेश २ मा नेपाल क्रिकेट संघको नयाँ समिति चयन भएको छ । नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभा तथा अधिवेशनबाट जनकपुरधामका हिरा भगतको सभापतित्वमा १२ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन गरिएको छ ।

महोत्तरीको बर्दिबासमा आयोजित विशेष साधारणसभा तथा अधिवेशनबाट क्रिकेट संघको उपसभापतिमा सिरहाका सुनिलकुमार महासेठलाई चयन गरेको छ भने सचिवमा सप्तरीका आयुष श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै कोषाध्यक्षमा रौतहटका पवन कुमार गुप्तालाई चयन गरिएका संघले जनाएको छ ।

यसैगरी, सदस्यमा पर्साका डा. हरिशंकर प्रसाद साह, मुर्तुजा हवारी, सिराहाका अनिल कुमार शर्मा, महोत्तरीका सुनिलकुमार साह, रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, धनुषाका आकाश पाण्डे, बाराका सुभास जयसवाल छन् ।

समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झाले खेल र खेलाडीको नामले कुनै बेला परिचय बनाउन सफल रहेको प्रदेश २ मा अहिले खेलाड़ी र खेल हराएकोप्रति चिन्ता व्यक्त गरे ।

कुनै बेला राष्ट्रिय रुपमा पहिलो कप्तानको रुपमा उत्तम कर्माचार्य यसै प्रदेशको खेलाड़ी रहेको र क्रिकेटको अन्तर्रा्ष्ट्रिय स्तरमा समेत देशको प्रतिनिधित्व गरेको इतिहासलाई उनले सम्झिए ।

उपप्रमुख झाले अहिले प्रदेश २ दैवी प्रकोपको चपेटामा परेको भन्दै खेतीयोग्य जमिन मात्र नभइ थुप्रै स्थानमा खेलकुद मैदानसमेत बाढीले बगाएको बताए ।

महोत्तरी क्रिकेट संघका अध्यक्ष रोशन सिंहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमलकिशोर चौधरीले क्रिकेटको आफ्नो पुरानो इतिहास बोकेको प्रदेश २ का खेल र खेलाड़ीको भेदभाव भएको दुःखेसो सुनाए ।

नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले प्रदेश २ लाई क्रिकेटको हबको रुपमा विकास गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे । उनले प्रदेश २ मा क्रिकेटको इतिहासमा महोत्तरीको थुप्रै पहिचान रहेको बताए ।

कार्यक्रममा तिलाठी कोइलाड़ी गाउँपालिकाका अध्यक्ष सतीश सिंहले क्रिकेटको राम्रो सम्भावना बोकेको प्रदेश २ ले संघीय सरकार मात्र होइन अब प्रदेश र स्थानीय सरकार समेतसंग सहकार्य गरी एउटा राम्रो क्रिकेट मैदान बनाउन पहल गर्ने बेला आएको बताए ।

Featured