देश

तीन जना कर्मचारी अख्तियारको फन्दामा परेपछि कार्यालयको कामकाज प्रभावित

धनगढी, भदौ १५–यातायात व्यवस्था कार्यालय सेतीका प्रमुखसहित तीन जना कर्मचारी अख्तियारको फन्दामा परेपछि कार्यालयको कामकाज प्रभावित बनेको छ । कार्यालयमा यातायातको रुट प्रमिट र नयाँ सवारी दर्ताको काम ठप्प भएपछि सेवाग्राहीलाई सास्ती भएको हो ।

अख्तियारले बिहीबार कार्यालयका निमित्त प्रमुख गम्भीरसिंह विष्ट, भुवन जोशी र जयराज कारिगरलाई १ लाख ६६ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।

गाडीको रुट परमिट लिन आएका सवारी चालक लालबहादुर महराले कार्यालय प्रमुख नभएपछि आफ्नो काम नभएको गुनासो गरे । उनले भने, ‘कार्यालय प्रमुख मात्रै होइन, कार्यालयका दुई जना अन्य शाखा अधिकृत पनि घुस प्रकरणमा मुछिएपछि कार्यालयको अन्य काममा समेत ढिलासुस्ती हुने गरेको छ ।’

धनगढीका अमन चौधरीले सवारी चालक अनुमति पत्रको पुनः ट्रायलको फारमका लागिसमेत घण्टौं लाइन बस्नुपरेको गुनासो गरे । कार्यालयमा अहिले कार्यरत छैंटौं तहका शाखा अधिकृत नन्दलाल भट्टले सवारीको रुट परमिट र नयाँ सवारी दर्ताको काम ठप्प भएको बताए । उक्त जिम्मेवारी पदीय हैसियतले आफूले गर्न नपाउने भएपछि काम ठप्प भएको उनको भनाइ छ ।