विदेश

बङ्लादेशका मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण

ढाका, एजेन्सी, भदौ १५–बङ्लादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ। शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन्।

आक्रमणमा कसको संलग्नता थियो भन्नेमा अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरीको भनाई छ। अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्था एसआइटीइले आइतबार ट्वीटरमा लेखेको छ, ‘इस्लामिक स्टेट (आइएस) ले ढाकामा भएको बम आक्रमण आफूहरुको तर्फबाट गराइएको दाबी गरेको छ।’

स्थानीय सरकार तथा ग्रामीण विकास मन्त्री ताजुल इस्लामलाई एउटा कार्यक्रममा सहभागी हुन गइरहेका बेला आक्रमण भएको हो। उनलाई ६ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै लगेका थिए। मन्त्री इस्लाम बङ्लादेशको सीमा सुरक्षा बलको कार्यक्रममा सहभागी हुन जान लाग्नुभएको डिएमपी कार्यालयले जनाएको छ।

स्थानीय समयअनुसार शनिबार राति ९ : २० बजेतिर विस्फोटन भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्। –सिन्ह्वा

Featured