देश

बैंकको एटिएम ह्याक गरी करोड रकम लुट्ने पाँच जना सार्वजनिक

काठमाडौँ, भदौ १५-बैंकको एटिएम ह्याक गरी करोडभन्दा बढी रकम निकालेका पाँच चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ। शनिबार पक्राउ परेका पाँचै जना चिनियाँ ह्याकरलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए। प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन्।

पत्रकार सम्मेलनमा उनीहरुको साथबाट बरामद भएको १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत प्रहरीले सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको जनाएको छ। नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप भने सुरक्षित रहेको बताएका छन्।