विदेश

भारतीय नागरिकको स्वीस बैङ्कमा रहेको सबै खाताको खुलासा हुँदै

काठमाडौं, एजेन्सी, भदौ १५-भारत र स्वीट्जरल्याण्डबीच भएको बैंकिङ सूचना स्वतः आदानप्रदान गर्ने सम्झौता भएपछि सेप्टेम्बर १ देखि को-को भारतीय नागरिकहरुको स्वीस बैङ्कमा खाता छ भन्ने खुलासा हुने भएको छ।

केन्द्रीय प्रत्यक्ष कार बोर्ड (सीबीडीटी) ले दुई देशीबच भएको सम्झौताले कालोधन विरुद्धको महत्वपूर्ण कदम भएको र स्वीस बैङ्कको गोपनीयता युगको अन्त्य हुने बताएको छ।

सूचना आदान–प्रदान हुनुभन्दा पहिले स्वीट्जरल्याण्डका एक प्रतिनिधि मण्डलले अगष्ट २९–३०मा राजस्व सचिव एबी पाण्डे, बोर्डका अध्यक्ष पीसी मोदी र बोर्डका सदस्य अखिलेश रंजनसँग बैठक गरेको सीबीडीटीले जनाएको छ। वित्तीय खाताबारे जानकारी स्वतः आदान–प्रदान (एइओआई)का सुरुवात सेप्टेम्बरदेखि हुँदैछ । अब स्वीट्जरल्याण्डमा भारतीय नानगरिकको २०१८ मा बन्द भएका खाताको पनि जानकारी उपलब्ध हुनेछ।

स्वीस बैङ्कले जुनमा ५० जना भारतीय कारोबारकर्ताको नाम सार्वजनिक गरेको थियो

यही वर्ष जुन महिनामा स्वीस सरकारले विदेशी बैङ्कमा कालोधन राख्ने ५० जना भारतीय कारोबारकर्ताको नाम सार्वजनिक गरेको थियो। स्वीस अधिकारीले खातावालालाई आफ्नो मुद्दा प्रस्तुत गर्नका लागि सूचना पठाएको थियो। यसमा सबैभन्दा धेरै कोलकता, मुम्बई, गुजरात र बैंगलोरका थिए। पछिल्लो एक वर्षमा १०० भन्दा बढी भारतीय खातावालाको नाम सार्वजनिक भइसकेको छ।

स्वीस बैङ्कमा सबै भन्दा धेरै खाता हुनेमा बेलायत शीर्ष स्थानमा

स्वीस बैङ्कमा धेरै रकम राख्नेमा बेलायत सबैभन्दा अगाडि रहेको छ। स्वीस नेसनल बैङ्क(एसएनबी)ले यसै वर्षको जुन महिनामा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१८ मा कूल रकमको २६ प्रतिशत भाग बेलायती कारोबारकर्ताको रहेको उल्लेख छ। त्यहाँ रकम राख्ने भारतीय संख्यामा कमी भइरहेको छ। भारत अहिले ७४औं नम्बरमा पर्छ। पछिल्लो वर्ष भारतीयले जम्मा गर्ने रकममा ६ प्रतिशतले कमी आएको छ। गत वर्ष भारत ७३ औं स्थानमा रहेको थियो। स्वीस बैङ्कमा भारतीय नागरिकको हिस्सा ०.०७ प्रतिशत रहेको छ।

Featured