देश

हतरंगामा देउडा प्रतियोगिता सम्पन्न

बैतडी, भदौ १५–सुदूरपश्चिमेलीको महान् पर्व गौराका अवसरमा आयोजना गरिएको देउडा प्रतियोगिता शनिबार बैतडीको मेलौली नगरपालिका वडा नं ६ हतरंगामा सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको महिला तथा पुरुष खुला देउडा प्रतियोगितामा विजेता देउडियालाई नगद पुरस्कारसहित प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिएको छ ।

महिलातर्फ झुपा भट्ट प्रथम, कमला रावत द्वितीय, कलावती ओझा तृतीय र सीता भट्टले सान्त्वना स्थान प्राप्त गरेका छन् । यस्तै पुरुषतर्फ रामदत्त जोशी प्रथम, रामदत्त भट्ट द्वितीय, केशवदत्त भट्ट र श्यामदत्त बाग तृतीय र लालसिंह क्षेत्री, मानसिंह पुजरा, गोपाल दयाल र भगीरथ दयालले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

दुवै टिममा प्रथम हुनेलाई छ हजार, दोस्रो हुनेलाई चार हजार, तेस्रो हुनेलाई दुई हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई पाँच सय रूपैयाँका दरले पुरस्कार वितरण गरिएको छ । यस्तै ठाडो खेल खेलाएर संस्कृतिको जगेर्ना गरेको भन्दै स्थानीय ७४ वर्षीय लोकमणि भट्टलाई पनि सम्मान गरिएको छ । (रासस)