खेलकुद विदेश

मेस्सीभन्दा कम उमेरमा गोल

एजेन्सी, भदौ १५–बार्सिलोनाका लागि गिनीका स्ट्राइकर अंशु फातीले डेब्यु खेलमा नै गोल गरेका छन् । १६ वर्षे फातीले गोल गरेपनि बार्र्िसलोनाले ओसासुनाविरुद्धको खेलमा जित निकाल्न भने सकेन ।

ला लिगामा शनिबारराति भएको खेलमा ओसासुना र बार्सिलोनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा भएको खेलमा ओसासुनाले सातौं मिनेटमा रोबर्टो टोरेसको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै मैदान प्रवेश गरेका अंशु फातीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको ६४ औं मिनेटमा आर्थरले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता पनि दिलाएका थिए । तर ८१ औं मिनेटमा पाएको पेनाल्टीमा टोरेसले ओसासुनाका लागि बराबरी गोल गरे ।

उनी सिनियर टिमबाट बार्सिलोनाका लागि कम उमेरमा नै गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । उनी १६ वर्ष ३०४ दिन भए । यसअघि फ्याब्रिस ओलिंगाले १६ वर्ष ९८ दिन र इकर मुनिइनले १६ वर्ष २८९ दिनको उमेरमा गोल गरेका थिए । फातीले लिओनल मेस्सी र बोजानलाई समेत पछि पारेका छन् । बोजानले १७ वर्ष ५५ दिन र मेस्सीले १७ वर्ष ३३१ दिनमा गोल गरेका थिए ।

Featured