खेलकुद देश

ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथिको कारबाही फिर्ता गर्न क्यानका ६ बोर्ड सदस्यको माग

काठमाडौं, ७ पुस । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना बोर्ड सदस्यले राष्ट्रिय क्रिकेट टिमका ज्ञानेन्द्र मल्लसहित चार जना खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी उनीहरूले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले गरेको कारबाही तत्काल फिर्ता लिन माग गरेका हुन् ।

क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामाले नेपाललाई एक दिवसीय मान्यता दिलाउन महत्त्वपूर्ण योगदान दिएका क्रिकेट खेलाडीलाई सम्मानको बदला अनुशासनको नाममा नियोजित कारबाही गरिएकाले फिर्ता लिन माग गरेका हुन् ।

क्यानले  राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोसेको छ भने सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने निर्णय गरेको थियो । क्यानल राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिएको छ ।

वर्षौसम्म राष्ट्रिय टिममा रहेका खेलाडीलाई हचुवाका भरमा नियोजित तरिकाले कारबाही गर्दा आउँदा दिनमा हुने महत्वपूर्ण प्रतियोगितामा पर्ने असरका साथै नेपाली क्रिकेटको शाख खस्कने अवस्था आउन सक्नेतर्फ चेतावनी पनि उनीहरूले दिएका छन् ।

‘निर्वाचनबाट नेपाल क्रिकेट संघको नयाँ नेतृत्व चयन गर्दै गर्दा नेपाली क्रिकेट समर्थक तथा खेलप्रेमीमा अब नेपाली क्रिकेटको विकासले गति लिन्छ, निलम्वन पूर्ण रूपमा फुकुवा हुन्छ भन्ने विश्वास जागेको थियो । तर, सवा दुई वर्षको अवधिमा आईसिसिबाट पूर्ण निलम्बन फुकुवा हुने वातावरण सकेनौं नै, आफ्नो मेहनत, परिश्रम र टिम भावनाका साथ नेपाललाई एक दिवसीय मान्यता दिलाउन महत्त्वपूर्ण योगदान गरेका क्रिकेट खेलाडीलाई सम्मानको बदला अनुशासनको नाममा नेतृत्वकर्ताले जुन किसिमका नियोजित कारबाही गरिएको छ, यसको हामी घोर भत्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले अनुशासन समिति गठन हुँदाहुँदै समितिलाई काम गर्न नदिएर एक्कासी संयोजकलाई हटाउनु स्वतन्त्र छानविनको कुरालाई शंकाको घेरामा पुर्‍याएको पनि बताएका छन् । ‘अनुशासन समिति गठन हुँदाहुँदै सो समितिलाई कार्य गर्न नदिनु, एक्कासी संयोजकलाई हटाउनु, छानविन समितिको नाममा निर्णयकर्ता नै संयोजक भएर बस्नुले नै स्वतन्त्र छानविन हुने कुरालाई शंकाको घेरामा पुर्‍याउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले छानविन प्रतिवेदनबारे बोर्ड सदस्यलाई समेत जानकारी नगराउनु र आफूहरूको असहमतिका बाबजुद खेलाडीको भविष्यमाथि खेलवाड हुने गरी कारबाही गरेर नेपाली क्रिकेटलाई कहाँ पुर्‍याउन खोजिएको हो भन्ने प्रस्ट हुने बताएका छन् ।

Featured