देश

आश्वासनले मात्रै देश समृद्ध बन्दैनः पौडेल

बैतडी, भदौ १४–नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले केही पनि गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस बैतडी र जिल्लास्थित जिपि कोइराला फाउण्डेशनको कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले सरकार गठन भएको १८ महिना बितिसक्दा पनि नयाँ कामको सुरुवता नभएको गुनासो गरे । ‘वर्तमान सरकार झुटा आश्वासन बाँड्नमै सीमित छ ।’ उनले भने, ‘आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन् । देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ । यो सरकारले अहिले सम्म एउटा काम पनि सुरु गर्न सकेन । ’

दुईतिहाईको वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्न लागेको नेता पौडेलले आरोप लगाए । उनले भने, ‘सुन काण्ड,बालुवाटारकाण्ड, वाइडबडी, मेलम्ची, बुढीगण्डकी यी सबै काण्डहरुमा हेर्नुहोस्र सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ । यो सरकारको कथनी र करणीमा भिन्नता छ ।’

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएपनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको उनको भनाई थियो । पूर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न नसकिने भन्दै नेता पौडेलले सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसका घाँटी निमोठ्ने दाउमा लागेको बताए ।

एक अर्को प्रसँगमा नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्नु संविधान विपरीत भएको बताए । उनले भने, ‘सरकार सञ्चालन बाहिरबाट गर्न सक्ने कुरा संविधानले परिकल्पना नगरेको कुरा हो । यो सरकार नै संविधान कुल्चिँदै अघि बढेको छ ।’

उक्त कार्यक्रममा नेता पौडेलले विभिन्न पार्टी त्यागी कांग्रेस प्रवेश गर्ने व्यक्तिलाई स्वागत गरेका थिए । सत्तारुढ दलका नेता एवं दलित मुक्ती मोर्चाको पूर्व जिल्ला उपाध्यक्ष जयराम लुहार लगायतलाई पौैडेलले पार्टी प्रवेश गराएका थिए ।

Featured