खेलकुद

पोखराको बगालेटोलमा ६ करोड लगानीमा फुटसल

पोखरा, भदौ १४–पोखरामा स्वास्थ्य नागरिक उत्पादन गर्ने उद्देश्यले पोखराको बगालेटोलमा अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसारको जिमहल र फुटसल सञ्चालनमा आएको छ । नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी ईश्वर गुरुङ (चन्द्र) सहितको युवा तथा खेलाडीको लगानीमा स्पोटर्स क्यासल सञ्चालनमा आएको हो ।

सात जनाको लगानीमा सञ्चालनमा आएको क्यासलको एक समारोहबीच शनिबार गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङले उद्घाटन गरे । उनले स्वस्थ नागरिक उत्पादनमा यस्ता जिमहल र फुटसलको ठूलो भूमिका रहने बताए ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले समाजमा हुने विकृतिलाई निरुत्साहित पार्न यस्ता खेल गतिविधिमा लगानी गर्नुपर्ने विचार राखे । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले पोखराका हरेक टोलमा फुटसल हुनु खेलकुद गतिविधिका लागि राम्रो भएको बताए । नेपाल ह्यान्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले दिगो विकासका लागि खेल गतिविधि आवश्यक भएको तर्क गरे ।

साढे ६ रोपनीमा फैलिएको स्पोटर्स क्यासलमा क्यान्टिन, पार्किङ, शौचालय एवं बाथरुम र लकरको राम्रो व्यवस्था रहेको सञ्चालक चन्द्रले बताए । कार्यक्रममा हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङबाट रजत पदक विजेता नेपाली टोलीका प्रशिक्षक योगेश भट्टराईलाई सम्मान गरिएको छ ।

Featured