देश

सौराहामा भवन र रङमा एकरुपता ल्याइने

चितवन, भदौ १४–चितवनको रत्ननगर नगरपालिकाले सौराहामा भवन निमार्ण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ ।

सौराहाको पर्यटन विकासको लागि नगरपालिकाले रचनात्मक कामको सुरुवात गरेको भन्दै व्यवसायीहरुले त्यसको स्वागत गरेका छन् । सौराहाको प्रकृति सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीहरुसंग सहकार्य गरी भवन निर्माण र त्यसको रङमा एकरुपता ल्याउन लागेको हो ।

६ महिना अघि लागू गरिएको मापदण्डमा साढे २ तल्ला भन्दा माथी निर्माण गर्न नपाउने र सबै भवनहरुमा वातावरणमैत्री कलर लगाउनु पर्ने अनिवार्य गरिएको मेयर नारायण वनले बताए ।

भवन निर्माण मापदण्ड कार्यान्वयनको लागि नगरपालिकाले सौराहाका व्यवसायीहरुसंग पनि छलफल गरेको छ । सौराहामा करिब १२० वटा होटल र ८० वटा रेष्टुरेष्ट रहेका छन । नगरपालिकाले होटल सञ्चालनको लागि बनाउने भवनको जग्गाको क्षेत्रफल र खुल्ला क्षेत्र समेत निर्धारण गरेको छ ।