देश राजनीति

मोरङमा एकै पटक ठुलो संख्यामा मारवाडी समुदाय नेकपा (एमाले) मा प्रवेश गर्दै

विराटनगर, ६ मंसिर । विकास र समृद्धिको स्पष्ट योजना नेकपा (एमाले) सँग मात्र रहेको भन्दै पछिल्लो समय सो पार्टीमा जनताको आकर्षण बढ्दै गएको छ ।

‘नेकपा (एमाले) को नीति एमालेकै नेतृत्व’ भन्दै पछिल्लो समय मारवाडी समुदाय पनि संगठित हुन थालेका छन् । मोरङमा आगामी मंसिर ८ गते ठुलो संख्यामा मारवाडी समुदाय नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् ।

नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा बामपन्थी मारवाडी युवा समूहका अध्यक्ष मनोज अग्रवालको पहलमा सयौँको संख्यामा मारवाडी समुदाय सो पार्टीमा प्रवेश गर्न लागेका हुन् ।

नव प्रवेशीलाई समावेशी अवधारणा बमोजिम पार्टीले उचित जिम्मेवारी समेत प्रदान गर्ने नेता अग्रवालले जानकारी दिए । उनले मंसिर ८ गते विहान १० बजेदेखि विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको बताए ।

नेता अग्रवालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना नेकपा (एमाले) ले साकार पार्ने भएकाले आगामी निर्वाचनमा देशभरको सिंगो मारवाडी समुदायले एमालेलाई साथ दिने दावी गरे ।

Featured