खेलकुद

नेपाललाई ७–० गोलले हराउँदै भारतले लग्यो उपाधि

काठमाडौं, भदौ १४–साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । कोलकत्तास्थित कल्याणीमा शनिबार भएको उपाधि भिडन्तमा भारतसँग नेपाल ७–० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई उपाधि दिलाउने क्रममा खेलको १५औं मिनेटमा टोन्जब्रामले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४२औं मिनेटमा अमनदिप तथा ४५औं मिनेटमा भिमपोकमनले गोल गर्दै भारतलाई ३–० ले अघि बढाए ।

पहिलो हाफअघि नै ३–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खायो । भारतका नोन्जमेलकपमले खेलको ५२औं मिनेटमा गोल गर्दै भारतलाई ४–० गोलको अग्रता दिलाए । ६५औं मिनेटमा जन्जरले गोल गरे भने ७६औं मिनेटमा नोन्जमेलकपमले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता ६–० बनाए ।

भारतले अन्तिमसम्म नेपाललाई पेल्यो । ८०औं मिनेटमा नोन्जमेलकपमले ह्याट्रिक गर्दै भारतलाई ७–० को जितसहित साफ यू–१५ च्याम्पियनसिपको उपाधि जिताए । नेपाल प्रतियोगिताको पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

Featured