विदेश

सुडानमा सैन्य कु गरेर हटाइएका प्रधानमन्त्रीलाई टाउकाेमा बन्दुक तेर्स्याएर हस्ताक्षर गराइएकाे दाबी

सुडानमा सैन्य कु गरेर सत्ताबाट हटाइएका प्रधानमन्त्री अब्दल्ला हाम्दोक पुनः प्रधानमन्त्री बनेका छन् । सेनासँग भएको शक्ति बाँडफाँडसम्बन्धी सहमतिपछि प्रधानमन्त्री अब्दल्ला पुनः सत्तामा आएका हुन् ।

उनले टेलिभिजनमा शक्ति बाँडफाँड सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको देखाइएको छ । सहमतिमा अब्लुल्लासँगै सैन्य कु गर्ने नेता सैनिक जनरल अब्देल फातह अल–बुर्हानले पनि हस्ताक्षर गरेका छन् ।

तर नागरिक गठबन्धनले दुई वर्ष पहिले प्रधानमन्त्रीका रूपमा चयन गरेका हाम्दोकले शक्ति बाँडफाँड सम्बन्धी कुनै पनि नयाँ सम्झौतालाई औपचारिक रूपमा स्वीकार भने गरेका छैनन् । हाम्दोकको टाउकोमा बन्दुक तेर्साएर सहमतिमा हस्ताक्षर गर्न लगाइएको दाबी उनका प्रवक्ताले गरेको बीबीसीले जनाएको छ ।

एक महिना अगाडि सेनाले हाम्दोक नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । अपदस्थपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख शहरहरुमा विशाल प्रदर्शन भएका थिए । त्यसक्रममा सेनाकाे गाेली लागेर कैयाैँकाे ज्यान गएकाे थियाे । सैन्य कु काे अन्तर्राष्ट्रिय समूदायले निन्दा गरेकाे थियाे ।

Featured