देश

महोत्तरीमा हतियारधारीले लुटे लाखौंको धनमाल

जनकपुर, भदौ १४–महोत्तरीमा हतियारधारी डकैत समूहले लाखौंको धनमाल लुटपाट गरेको छ । महोत्तरीको मनरा सिसवा नगरपालिका ३ सुनौलमा हतियारधारी डाँका समूहले धनमाल लुटेको हो । डाँका समूहसँग प्रतिकार गर्ने क्रममा एक जना घाइते भएका छन् ।

शुक्रबार मध्यरातमा ८–९ जनाको संख्यामा घरेलु हतियारसहित आएको समूहले परिवारलाई नियन्त्रणमा लिएर लुटपाट गरेको स्थानीयले जनाएको छ । सुनौल बस्ने रामलोचन राउत र सियारामशरण राउतको घरमा प्रवेश गरी लुटपाट गरेका थिए । डाँकाको प्रतिकारमा उत्रेका घरमूली रामलोचन राउतमाथि समूहले बन्चरो प्रहार गर्दा उनको बायाँ खुट्टामा गहिरो चोट लागेको छ ।

डाँकाहरुलाई स्थानीयले प्रतिकार गर्न थालेपछि डाँका समूह धनमाल लिएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय देवेन्द्र यादवका अनुसार १५–२० मिनेटभित्रै डाँकाहरुले लुटपाट गरेर भागेका थिए । २ लाख ५० हजार नगद, ६ तोला सुन र ६० तोला चाँदीका गहना लुटेको दुवै पीडितले जनाएका छन् ।

स्थानीयका अनुसार इटहरवाकट्टी र बलवास्थित चौकीबाट राति नै प्रहरी घटनास्थल पुग्दा डाँकाहरू भागिसकेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।