विदेश

मदिरापछि पान मसलामा प्रतिबन्ध

काठमाडौं, भदौ १४–भारतको बिहार सरकारले तीन वर्षअघि लगाएको मदिरा प्रतिबन्धपछि पान मसलामा पनि प्रतिबन्ध लगाएको छ । शुक्रबार स्वास्थ्य विभागको उच्चस्तरीय बैठकले यो निर्णय गरेको छ । तत्काल एक वर्षका लागि यो प्रतिबन्ध घोषणा गरिएको बिबिसीले जनाएको छ । अब बिहार राज्यमा पान मसलाको उत्पादन, भण्डारण, ओसारपसार, बिक्री र सेवन अवैध मानिने छ ।

यसबाट वर्षौंदेखि पान र चुरोट बेचेर जीविका चलाउनेहरूमा असर परे पनि उनीहरूले अब यो पेसाको विकल्प अपनाउनुपर्ने बाध्यता आइलागेको छ । सरकारको निर्णयलाई लिएर सहरमा अनेक टिप्पणी सुरू भएका छन् । सरकारले यी टिप्पणीप्रति चासो दिएको छैन । इन्दिरा गान्धी आयुर्विज्ञान संस्थानका वरिष्ठ चिकित्सक डा. हर्षवर्धनले भने सरकारको यस निर्णयलाई स्वागतयोग्य भनेका छन् ।

उनका अनुसार सरकारको यस पहलबाट राज्यमा मुखको क्यान्सर कमी आउने छ भने क्याम्पस, अस्पताल र कार्यालयहरू पनि सफा राख्न सजिलो हुने छ । सरकारले पान मसला जाँच गर्दा यिनमा मिसाइएका खराब रसायनका कारण मानिसको स्वास्थ्यमा गम्भीर असर परेको देखेर राजस्वको लोभ नगरी प्रतिबन्ध लगाएको बुद्धिजीवीको तर्क छ ।

बिहार सरकार स्वास्थ्य विभागले २० पान मसला कम्पनीमा प्रतिबन्ध लगाएको छ । यिनमा रजनीगन्धा, राज निवास, सुप्रिम, पान पराग, राजश्री, रौनक, सिग्नेचर, कमला पसन्द, मधु पान मसालालगायत छन् । यी सबै पान मसलामा प्रतिबन्धित रसायन म्याग्नेसियम कार्बोनेट पाइएको थियो ।

Featured