देश

घूस नदिएको भन्दै सहायक प्रिन्सिपलले कुटे विद्यार्थी

जनकपुर, भदौ १४–नेपाल डेन्टल हस्पिटल एण्ड टेक्निकल रिसर्च इन्ष्टिच्यूट प्रालिका सहायक प्रिन्सिपलले घूस रकम नपाएको झोकमा विद्यार्थीमाथि कुटपिट गरेका छन् ।

सीडीएस् तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी पोष्पलकुमार साहमाथि नेपाल डेन्टलका सहायक प्रिन्सिपल रञ्जित साहले कुटपिट गरेका हुन् । सहायक प्रिन्सिपल साहले पोष्पलकुमारलाई प्रयोगात्मक परीक्षा पास गराइदिने भन्दै फि बाहेकको अतिरिक्त १० हजार रुपैयाँ माग गरेका थिए । साहले आफूलाई कुट्दै परीक्षामा समेत सहभागी हुन गदिएको पीडित विद्यार्थीले बताए । आफूले अतिरिक्त फि दिन नसक्ने बताएपछि आफूमाथि आफू अन्यायमा परेको पोष्पलकुमारको भनाइ छ ।

सहायक प्रिन्सिपलले अघिल्ला दुई वर्षको प्रयोगात्मक परीक्षाका लागि अतिरिक्त रकम लिएका थिए । पहिलो र दोस्रो वर्षमा फि बाहेकको २० हजार रुपैयाँ अतिरिक्त बुझाएको पीडित विद्याथीका बाबु शिवकुमार साहले बताए । उनले भने, ‘यसपटक मैले अतिरिक्त रकम दिन सक्दिन भन्दा छोरामाथि परीक्षा केन्द्रमै सबै विद्यार्थीको सामुन्ने कुटपिट भयो ।’ उनले छोरालाई परीक्षामा पनि सामेल नगराउनु घोर अन्याय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शिवकुमारले भने, ‘छोराको पढाइको लागि ४ लाख रुपैया तिरेका छौं छोरालाई पहिलो, दोस्रो र तेस्रो वर्षमा समेत किताब पनि दिएनन् तर, हामी चुपचाप सहन बाध्य भयौं ।’ विद्यार्थीले गलत गरे अभिभावकलाई भन्नुपर्नेमा सिधै हातपात गर्नु घोर अपराध भएको उनको भनाइ छ ।

तेस्रो वर्षको परीक्षामा सहभागी एक छात्राले नाम सार्वजनिक नगर्ने शर्तमा भनिन्, ‘परीक्षामा पास गराइदिने भन्दै हामिसँग १० हजार रुपैयाँ घूस लिइएको छ, मैले अघिल्लो वर्षमा यसरी नै १० हजार रुपैयाँ नदिँदा परीक्षामा फेल गराइयो ।’

सहायक प्रिन्सिपल साहले विद्यार्थीलाई घूस रकम नभई अर्कै कारणले विद्यार्थीलाई कुटेको बताएका छन् । उनले भने, ‘विद्यार्थीसँग प्रवेश पत्र नभएकाले सोधखोज गर्दा उल्टै मुखमुखै लागेकाले सम्झाएको हुँ ।’ उनले उल्टै विद्यार्थीले घूस दिन खोजेको आरोप लगाएका छन् ।

डेन्टल क्याम्पसमै जुवातास
नेपाल डेन्टल हस्पिटल एण्ड टेक्निकल रिसर्च इन्ष्टिच्यूट प्राली रामानन्द चोकमा खुलेआम तास खेलिँदै आएको छ । शैक्षिक संस्थाभित्र खुलेयाम रुपमा ताल खेलिरहँदा पनि सम्बन्धित निकाय मुकदर्शक छन् । विद्यार्थीकै सामु तास खेलिँदै आएको अभिभावक शिवकुमार साहले बताएका छन् । उनले भने, ‘सहायक प्रिन्सिपल रञ्जित साहसमेत तास क्याम्पस परिसरभित्रै तास खेल्छन्, केही दिनअघि म फि तिर्न आउदाँ उनी तास खेलिरहेका थिए ।’ घण्टौं बस्दा पनि साहले तास छोडेर नआएपछि लेखापालसँग भेटेर उनले रकम बुझाएको उनले बताए ।

शुक्रबार विद्यार्थीमाथि कुटपिट भएको घटनापश्चात पत्रकार र अभिभावक पुग्दा पनि उनी तास खेलिरहेका थिए । अभिभावक शिवकुमार साहले तास खेल्दै आएको बारेमा गुनासो गर्दा उल्टै यो आफनो इच्छाको कुरा भएको भन्दै सहायक प्रिन्सिपल साहले ‘किप साइलेन्ट’ भन्दै हप्काएका थिए ।