खेलकुद विदेश

टी-२० विश्वकप : लगातार चाैथाै जित निकाल्दै पाकिस्तान सेमिफाइनलमा

लगातार चौथौ जित निकाल्दै पाकिस्तान आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा नामिबियालाई ४५ रनले पराजित गर्दै पाकिस्तान एक खेल अगावै अन्तिम चारमा पुगेको हो ।

पाकिस्तानले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४४ रन मात्र बनायो । नामिबियाका क्रायग विलियम्सले सर्वाधिक ४० रन जोडे । पाकिस्तानका हसन अली, इमाद वासिम, सडाब खान र ह्यारिस रौफले समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा दुई विकेट क्षतिमा एक सय ८९ रन बनाएको थियो । पाकिस्तानका ओपनर तथा कप्तान बाबर आजम र मोहम्मद रिजवानले शतकिय साझेदारी गरेका थिए ।

उनीहरूले पहिलो विकेटका लागि एक सय १३ रनको साझेदारी गरेका थिए । रिजवानले ७९ र बाबरले ७० रन जोडे । मोहम्मद हाफिजले अविजित रहँदै ३२ रन जोडे ।

पाकिस्तानले यसअघि भारत, न्युजिल्याण्ड र अफगानिस्तानलाई पराजित गरेको थियो । पाकिस्तान समूह २ मा ८ अंकसहित शीर्ष स्थानमा छ ।

Featured