देश

पत्नी फिर्ता ल्याउन बालक अपहरण

जनकपुर, भदौ १३–गएको १० भदौमा सिरहाको बन्दीपुरबाट अपहरित ५ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको बिहार सीतामढीका शोभित मुखियाले आफन्त पर्ने बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलनमा अपहरणकारीलाई सार्वजनिक गर्दै बालकलाई अभिभावकको जिम्मा लगाएको छ । मुखियाले पत्नी सुरेखालाई भगाउन बालकका बुबाआमाले सहयोग गरेको आरोप लगाउँदै सिरहाको कर्जन्हा नगरपालिका(२ बन्दीपुरमा शंकर कार्कीको घरमा डेरा गरी बस्ने बच्चा यादवको छोरा शिवमलाई अपहरण गरेका थिए । अपहरणकारीले बालकका बुबाआमालाई फिरौती बापत पत्नी सुरेखालाई फिर्ता मागेका थिए ।

पत्नीलाई फिर्ता पाउन बालकलाई अपहरण गर्नु जनकपुरधाम क्षेत्रमै पहिलो घटना हो । यसअघि अपहरणकारीले अपहरितलाई फिर्ता दिन फिरौती रकम माग्ने गरेका थिए । रौतहटको कटहरिया नगरपालिका(६ का बच्चा यादव र भारतको सितामढीका शोभित मुखिया छ महिनादेखि कार्कीको घरमा छुट्टाछुट्टै डेरा गरी बस्दै आएका थिए । शोभितले गर्ने गरेको फोनबाट उसको लोकेशनलाई पछ्याउँदै जाँदा शोभितलाई बालकसहित पक्राउ गर्न सफल भएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन ।

चटपटे व्यवसाय गर्ने मुखिया बाहिर गएको बेला २ भदौमा उनकी पत्नी सुरेखा मुखिया भागेपछि शोभितले आफ्नो पत्नी भगाउन बच्चा यादव र उनकी पत्नी सुखनीदेवी यादवले सहयोग गरेको आरोप लगाइरहेका थिए । यही क्रममा यादव दम्पतीलाई पत्नी फर्काउन दबाब दिन शोभितले उनीहरुका छोरा शिवमलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालक शिवमलाई अपहरण गरेपछि शोभितले बारम्बार यादव दम्पतीलाई फोन गरेर भन्ने गरेका थिए, ’मेरो पत्नीलाई फिर्ता गरिदे, छोरालाई लिएर जा भनेर फोन गरिरहन्थे ।’