खेलकुद विदेश

भारतद्वारा पाकिस्तानलाई १५२ रनको लक्ष्य

एजेन्सी, ७ कात्तिक । आइसिसी टी-२० विश्वकपअन्तर्गत सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य दिएको छ। दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोड्यो।

भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे। उनले ५७ रन जोडे। साहीन शाह अफ्रिदीको बलमा आउट हुनुअघि उनले ४९ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि ओपनरद्वय केएल राहुल र रोहित शर्मा सस्तैमा आउट भए। राहुल ३ रन र रोहित शून्यमा आउट भएका थिए। दुवैलाई पाकिस्तानका साहीन शाह अफ्रिदीले सिकार बनाएका थिए।

सूर्यकुमार यादवले ११ रन र रिशव पन्तले ३९ रन जोडे। रिशवले ३० बल खेल्दा २ चौका र २ छक्का हिर्काए। रवीन्द्र जडेजाले १३ रन जोडे। हार्दिक पाण्ड्या ११ रनमा आउट भए।

बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा  ३० रन खर्चिए।  हसन अलीले २ विकेट हात पारे। उनले ४४ रन खर्चिएका थिए। यस्तै शादब खान र हरिस राउफले १-१ विकेट हात पारे।

Featured