देश

चार वर्षपछि फेरि मत गन्दा हारे महोत्तरीका वडाध्यक्षले

निर्वाचन भएको चार वर्षपछि पुनः मत गणना हुँदा महोत्तरीको मनरासिशवा नगरपालिका १० को वडाध्यक्षमा रमेश राय विजयी भएका छन् ।

यसअघि राय र अरुणकुमार चौधरीले समान २६७ मत ल्याएको भन्दै गोलाप्रथाबाट चौधरी विजयी भएको घोषणा गरिएको थियो । तर, आज भएको पुनः मतगणना गर्दा रायको पक्षमा २६८ र चौधरीको पक्षमा २६६ मत खसेको देखियो ।

चौधरी निर्वाचित भएको घोषणा गरिएपछि राय अदालत पुगेका थिए । उच्च अदालत जनकपुरले पुनः मतगणना गर्न आदेश दिएको थियो ।

उच्च अदालतले पुनः मतगणनाको आदेश दिएपछि चौधरीले सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले उच्च अदालतको आदेश सदर गरेको थियो । त्यसपछि उच्च अदालत जनकपुरले असोज १० गते पुनः मतगनाका लागि मिति तोकेर आदेश दिएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले आज बिहान ११ बजेदेखि पुनः मतगणना सुरु गर्न आदेश दिएको थियो ।

‘यस अदालतको मिति २०७५/३/२१ को आदेशानुसार विवादित विषयको दोहोर्‍याइ मतगणना गर्ने कार्य आगामी मिति २०७८/७/७ गते बिहान ११ बजेदेखि प्ररम्भ गर्नू,’ पुनः मतगणना गर्न उच्च अदालतले दिएको आदेशमा भनिएको छ ।

२०७४ असोज २ मा भएको स्थानीय तहको निर्वाचनमा समान मत आएको भन्दै गोलाप्रथाबाट अरुण कुमार चौधरी वडाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो । तर, मतगणनामा धाँधली भएको भन्दै वडाध्यक्षका अर्का प्रत्यासी रमेश रायले उच्च अदालतलमा रिट दायर गरेका थिए ।

Featured