देश

मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौं, भदौ १३–सरकारले ल्याएको नेपाल मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाले स्वीकृत गर्दै दफाबार छलफलको लागि समितिमा लैजाने निर्णय गरेको छ ।

आमसञ्चारका माध्यम र पत्रकारको आचार संहिता पालना, अनुगमन, नियमन र कारबाहीको सिफारिस गर्ने अधिकार रहेको मिडियो काउन्सिल सम्वन्धी विधेयक राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले बैठक पेश गरेका थिए ।

विधेयकलाई विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएसँगै विधायन समितिमा दफाबार छलफलको लागि बाटो खुलेको हो । विधेयकको सैद्धान्तिक पक्षमाथि जिज्ञासा राख्ने सांसदको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद वाँस्कोटाले सहमतिमै विधेयक पारित गर्ने बताए ।

उनले संविधान खारेज र समाप्त गरौं भन्ने उदेश्य बोक्नेको लागि यो विधेयक सजिलो नभएको बताए । ‘गणतन्त्रबिरुद्ध कलम चलाउँदा सरकार हेरेर बस्दैन । त्यस वेला नियन्त्रण गर्न खोजियो र स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप भयो भन्न मिल्छ ?,’ बाँस्कोटाले भने ।

मन्त्री वाँस्कोटाको प्रश्न थियो, ‘तानाशाही व्यवस्थामा चुँ नबोल्ने, कलमको मुन्टो तल पार्ने, अहिले देश टुक्र्याउन आउ, गणतन्त्र सिध्याउन आउ भन्दा हामीले मान्नु पर्ने हो र ? ओपन च्यालेन्ज दिने यो डेमोक्रेसी र लोकतन्त्रलाई ?’

उनले गणतन्त्र विरोधीलाई निषेध गर्नु पर्ने भए पनि देशको मौलिक संस्कृति त्यस्तो नभएकोले निषेध नगरेको स्पस्ट पारे । ‘हाम्रो पनि हो नि गणतन्त्र भन्न पाईन्छ ? त्यो हेरेर बस्न सकिन्छ ? यो गणतन्त्र आउने नै थिएन नि तिनको कुरा मानेको हो भने’ उनले भने ।

उनले गणतन्त्रमा कुनै योगदान नभएकालाई राज्यले नागरिक, व्यक्ति वा संस्थाको रुपमा भए पनि रहन दिएको तर निरंकुशताको रहलपहल आज पनि फडा उठाउन खोजिरहेको भन्दै आलोचना गरे ।

पुरानो राजसंस्थाप्रति लक्षित गर्दै मन्त्री वाँस्कोटाले स्वतन्त्रताको नाममा लोकतन्त्र र स्वतन्त्रको रुपमा लडेका नेकपा नेतालाई जनताले लखेटे भनेर झुटो सूचना प्रवाह गरी खुल्याउन चाहनेको काम सहन नसकिने स्पस्ट पारे ।

मन्त्री बाँस्कोटाले तीन बर्ष अघि एक दैनिकमा आएको समाचार उधृत गर्दै भने, ‘दिलशोभा प्रकरण छानबिन गर्न नपाउने ? को हो अपराधी ? साधारण कि भीआईपी भन्दा मिडियाले खोज आफै भन्ने । मिडियाले ट्रायल गर्न पाउँछ ?’

नेपाली पत्रकारिता क्षेत्रमा अराजकता र स्वछन्दता मौलाउँदै गर्दा स्वतन्त्रता हराउँदै गएको भन्दै उनले नेपाली प्रेस सुरक्षित, मर्या्दित जिम्मेवार र गणतन्त्र र लोकतन्त्रप्रति समर्पित हुनुपर्ने बताए । भने, ‘यी मान्यता मान्दिन भन्न पाइँदैन ।’

उनले आचारसंहिता उल्लंघन गर्ने मिडियालाई कारवाही गर्नु पहिले स्पस्टीकरण लिए पछि मात्र कारवाही र सजायमा प्रवेश गर्ने भन्दै दण्डहीनता भने रहन्न र संविधान बमोजिम एब्सुलुट फ्रिडम नहुने बताए ।

‘स्वतन्त्रताको नाममा हामी स्वच्छन्दता छुट दिँदैनौं । प्रेस विश्वासनीय र मर्या्दित हुन्छ । केही पत्रकारहरुले सरकारको कारण होइन, मिडिया संचालकहरुले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेकाले सामूहिक राजीनामा पनि दिएका छन्’, मन्त्री बाँस्कोटाले भने ।

Featured