देश

भिडियो खिचेको भन्दै कुटपिट गर्ने असईमाथि विभागिय कारबाही

जनकपुर, भदौ १३–जनकपुरधाममा नरिवल बेच्ने एकजना किशोरलाई कुटपिट गर्ने प्रहरी जवान र कुटपिटको भिडियो खिचेको भन्दै अर्का एक युवकलाई कुटपिट गर्ने असई विभागीय कारबाहीमा परेका छन् । ड्युटीमा रहेको बेला आचरणविपरित काम गरेको भन्दै कुटपिट गर्ने पर्यटक प्रहरीका असई वीरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादव कारबाहीमा परेका हुन् ।

धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले कानुनविपरीत काम गरेको पाइएकाले असई र प्रहरी जवानविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । दुबैजनासँग स्पष्टीकरणसमेत सोधिएको छ ।

प्रहरी जवान प्रेमशंकरले पैसा माग गरेको तर दिन नमानेपछि नरिवल बेच्ने किशोर रोशन चौधरीलाई कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन् । तर, प्रहरी नायव उपरीक्षक कार्कीले भने प्रहरी जवानले पैसा मागेको कुरामा सत्यता नरहेको दाबी गरेका छन् । फुटपाथबाट ठेला हटाउन भनेपछि नरिवल बेच्ने रोशन र प्रहरी जवानबीच विवादमात्र भएको उनको भनाइ छ । विवादको क्रममा प्रहरी जवानले हातपात गर्नु कानुनविपरीत काम रहेकोले कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

यसैगरी, भिडियो खिच्ने युवा अभियन्ता सुशील कर्णलाई जानकी प्रहरी चौकीभित्र बोलाएर दुर्व्यवहार गरेको भन्दै असईलाई पनि कारबाही गरिएको उनले बताए । प्रहरीले हातपात गरेपछि बिहीबार केहीबेर जनकपुरको जानकी चोक क्षेत्र तनावग्रस्त बनेको थियो ।