देश

न्याय माग्दै माइती पक्ष राजविराजमा

सप्तरी, भदौ १३–सप्तरीको डाक्नेश्वरी नगरपालिका(१ कविलासाकी २७ वर्षीया कञ्चनकुमारी यादवको हत्या भएको दाबी गर्दै माइती पक्ष न्यायको खोजीमा राजविराज आइपुगेका छन् ।

नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरी मृतक कंचनका आफन्तले उनलाई आफ्नै पति, सासु, ससुरालगायतको योजनामा हत्या गरिएको दाबी गर्दैै आरोपितलाई पक्राउ गर्न प्रहरीले ढिलाइ गरिरहेको गुनासो पोखेका छन् ।

मृतक परिवारले घटनाको सिआइबीबाट छानबिनको माग समेत गरेको छ। १८ साउनमा कञ्चनको मृत शरीर डाक्नेश्वर नगरपालिका(१ स्थित आफ्नै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

श्रीमान् पक्षले सलले पासो लगाएर झुण्डिएर आत्महत्या गरेको दाबी गर्दै आएको छ । तर, मृतकका आफन्तले श्रीमान अरबिन्द, सासु फुलोदेवी, ससुरा सुदिलाल यादवलगायत ६ जनाले मिलोमतो गरी हत्या गरेर आत्महत्या बनाएको पत्रकार सम्मेलनमा दाबी गरेका छन् ।

उनीहरुले साउन २८ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा ६ जनाविरुद्ध किटानी जाहेरी नै दिइसकेका छन् । पत्रकार सम्मेलनमा मृतकका दाजु प्रविणले भने, ‘बहिनीको शरीरभर चोटको निशान, चुरा फुटेको तथा कपालबाट झरेका रौंका थुप्रा घटनास्थलबाट फेला परेकाले उनलाई कुटपिट गरेर हत्या गरी झुण्ड्याइएको सहजै अनुमान गर्न सकिन्छ ।’

हत्यालाई आत्महत्या देखाउन मृतकका पति र सासु, ससुराले मिलोमतो गरी कञ्चनलाई पासो लगाएर झुण्ड्याइएको उनको दाबी थियो । कञ्चनको माइती राजविराज नगरपालिका(१० मा रहेको छ । उनका पति अरबिन्द शिक्षण पेशामा संलग्न छन् ।

माइती पक्षका अनुसार उनका पति अरबिन्दको सोही विद्यालयका एक शिक्षिकासँग अनैतिक सम्बन्ध थियो । सोही कारण पछिल्लो केही समय यता पतिले कञ्चनलाई चरम यातना दिँदै आएका थिए । अरबिन्दका आमा बुबा पनि त्यही शिक्षिकासँग अरबिन्दको दोश्रो विवाह गराउने मनसायमा पुगेपछि कञ्चनमाथी घरभित्रै यातना बढ्दै गएको थियो ।

पत्रकार सम्मेलनमा मृतकका दाजु प्रविणले थपे, ‘अर्कै केटीसँग प्रेममा फसेपछि उनैसँग विवाह गर्नेरगराउने नियतले अरबिन्द र सासु, ससुराको मिलोमतोमा कञ्चनको हत्या भएको हो ।’

यता, घटना अनुसन्धानको क्रममा कञ्चनका पति अरबिन्द यादवलाई १९ साउनमै पक्राउ गरिसकेको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । उनले कञ्चनको हत्या हो वा आत्महत्या यस विषयमा प्रहरी अझ गहिरो अनुसन्धान गरिरहेको बताए । ‘प्रहरीबाट कुनै ढिलाइ भएको छर्न, सबै कोणबाट अनुसन्धान भइरहेको छ, चाडैं सत्यतथ्य सार्वजनिक हुन्छ,’ उनले भने ।