देश

पूर्वराजदूत केशव झाको हत्यारा पहिचान नजिक प्रहरी

काठमाडौं, भदौ १३–नेपाल प्रहरी फ्रान्सका लागि पूर्वराजदूत केशव झाको हत्यारा पहिचान नजिक पुगेको छ । ३१ साउनमा झाकै घरमा सुरक्षा गार्डका रुपमा काम गर्ने काभ्रेका सानुकान्छा तामाङलाई पक्राउ गरेको प्रहरीले झा हत्याको केही महत्त्वपूर्ण क्लू भेटेको दाबी गरेसँगै झा हत्या घटना सुल्झिने संकेत देखिएको हो ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार झा हत्या घटनामा सुरक्षा गार्ड तामाङको संलग्नता रहेको अनुसन्धानले देखाएको छ। ‘अहिले नै हत्यारा तामाङनै हो भन्दैनौ तर लामो अनुसन्धानबाट हत्यासँग जोडिएका कारण खोज्दै जाँदा उनीसँग पुग्ने आधार धेरै भेटिएका छन् । केही दिनमा यसले पूर्णता पाउला,’ अनुसन्धानमा संलग्न प्रहरी स्रोतले भन्यो ।

यसअघि समेत झाको हत्या प्रकरणमा सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । पछि प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंले तीनै जनालाई आठ–आठ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । धरौटीमा छुटेका तीन जनामध्ये सानुकान्छाको नाममा झा की श्रीमती, छोरा र छोरीको किटानी जाहेरी पछि उनी फेरि पक्राउ परेका हुन् ।

दास्रो पटक पोलिग्राफ परीक्षण
यसअघि अपराध महाशाखाले पक्राउ गरेर सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङको पोलिग्राफ परीक्षण गरेको थियो । जसमा सानुकान्छा तामाङले केही कुरा ढाँटेको देखिएको थियो ।

दोस्रो पटकसमेत उनलाई पोलिग्राफ परीक्षण गर्दा केही ढाँटेको देखिएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले आर्थिक कारण झाको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

झा हत्या अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘सानुकान्छा र पूर्वराजदूत झा बीच ५० हजार रुपैयाँको विषयमा विवाद नै भएको देखिन्छ,’ उनले थपे, ‘झासँग सानुकान्छाले ५० हजार रुपैयाँ एडभान्स समेत लिएका रहेछन् त्यही विषय र तलबको कारण झाको हत्या भएको अनुमान हामीले गरेका छौं ।’

पूर्वराजदूत झाको गत ४ भदौमा उनकै घर बबरमहलमा घाँटी रेटेर हत्या भएको थियो । प्रहरीले घटनास्थलबाट झा कै भान्सामा प्रयोग हुने चक्कु फेला पारेको थियो ।

त्यस्तै बिहीबार हत्या गर्न प्रयोग गरेको पञ्जा समेत फेला पारेको थियो । उक्त प्रमाणको प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचसमेत गरेको छ । एक वर्षको अवधिमा प्रहरीले झा हत्या अनुसन्धानमा तराईसम्म पुगेर सयौ जनासँग सोधपुछ गरेको थियो ।