देश

नेपालमा रेमिट्यान्स पठाउने मुलुक मध्ये अमेरिका पहिलो, कुन देशबाट कति रेमिट्यान्स आयो? हेर्नुहोस् सूचीसहित

काठमाडौं, भदौ १३-नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको छ। मुलुकमा भित्रिने रेमिट्यान्स वर्षेनी बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्ष १७ प्रतिशतले रेमिट्यान्स बढेको छ।

पछिल्लो समय औपचारिक माध्यमबाट पठाउने क्रम बढेकाले पनि रेमिट्यान्सको वृद्धि उच्च देखिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन्।

‘हुन्डी कारोबार निरुत्साहित हुँदै जाँदा रेमिट्यान्समा असर परेको हो’ उनले भने ‘अर्कोतर्फ विदेसिने कामदारमा दक्षता बढ्दा रेमिट्यान्समा प्रभाव परेको हो।’

खासगरी भारत, कोरिया र जापानबाट औपचारिक माध्यममार्फत रकम आउन थालेको छ। यसले गर्दा रेमिट्यान्समा उच्च वृद्धि देखिएको हो। गत आर्थिक वर्षमा यी तीनै राष्ट्र नेपालमा धेरै रेमिट्यान्स पठाउनेमा ‘टप टेन’को सूचीमा छन्। भारत दोस्रो स्थानमा पर्न सफल भएको छ।

‘मुख्यतः भारतबाट पहिले पहिले बोकेरै वा आफन्तीमार्फत पैसा ल्याउने चलन थियो, अब बैंकिङ च्यानलमार्फत आउन थालेको छ’ राष्ट्र बैंकका अर्का एक अधिकारीले भने।

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा अमेरिकाबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च छ। गत आर्थिक वर्ष अमेरिकाबाट मात्रै १ अर्ब ६४ करोड डलर रेमिट्यान्सका रूपमा भित्रिएको छ।

वेष्टर्न युनियन मनी ट्रान्सफरले अमेरिकी बैंकहरूसँग सहकार्य गरेको छ, अमेरिकी बैंकमा उसको खाता भएकाले अन्य देशबाट सो खातामार्फत रेमिट्यान्स पठाउँदा अमेरिकाबाट आएको देखिन्छ। यसले गर्दा अमेरिकाबाट आउने रेमिट्यान्स उच्च देखिएको निरौलाले बताए।

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालीलाई जान प्रतिबन्ध लगाइएका इराक, लेवनान जस्ता मुलुकबाट समेत उच्च रकम रेमिट्यान्सका रुपमा आउने गरेको छ।

इराकबाट गत आर्थिक वर्ष ८७ लाख अमेरिकी डलर रेमिट्यान्सका रुपमा भित्रिएको छ। त्यस्तै लेबनानबाट २४ लाख ८३ हजार अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ।

भारत तथा तेस्रो मुलुकबाट नेपाली त्यहाँ जाने गरेकाले प्रतिबन्ध लगाएका मुलुकबाट समेत रेमिट्यान्स आउने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।

नेपालमा धेरै रेमिट्यान्स पठाउने टप टेन मुलुक: 

देश भित्रिएको रेमिट्यान्स (डलरमा)
अमेरिका १ अर्ब ६४ करोड
भारत ८१ करोड १९ लाख
साउदी अरब ७८ करोड ४२ लाख
यूएई ७४ करोड ४७ लाख
मलेसिया ६५ करोड ५१ लाख
जापान ५८ करोड ५२ लाख
रोमानिया ४९ करोड २० लाख
कोरिया २८ करोड ९६ लाख
बहराइन २० करोड ९४ लाख
कतार १६ करोड ६० लाख

स्रोत: नेपाल राष्ट्र बैंक