देश

सबै शिक्षकलाई भाइरलले च्यापेपछि स्कुल बिदा

भीमदत्तनगर, भदौ १३–कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको संख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १ सयभन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।

उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप देखिएको बताए । ‘दैनिक २ सय बिरामी यहाँ स्वास्थ्य परीक्षणका लागि आइरहेका छन्,’ उनले भने, ‘तीमध्ये आधाजति भाइरलका बिरामी छन् ।’ साउनको पहिलो सातादेखि नै अस्पतालमा भाइरलका बिरामीको चाप बढ्दै गएको सूचना अधिकृत अवस्थीले जानकारी दिए ।

त्यसैगरी जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीको चाप बढेको छ । भीमदत्तनगरको बजार क्षेत्रका निजी क्लिनिकमा पनि भाइरलका बिरामीको चाप बढेको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–१ स्थित श्रीराम आधारभूत विद्यालयमा अध्यापनरत दुई शिक्षिका र एक शिक्षक बिरामी परेपछि गत बिहीबारदेखि दुई दिनका लागि स्कुल बन्द गरिएको छ ।

‘स्कुलमा भएजतिका सबै शिक्षक(शिक्षिका बिरामी परेकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कुँवरले बताए । (रासस)