देश

जोगबनीसहितका सवै सीमा नाका खुलेपछि नेपाल तर्फको ब्यापार घट्यो, चाडवाडको समयमा सहायक नाकाबाट चोरी पैठारीमा बृद्धि

विराटनगर, ९ असोज । जोगबनी नाकासहित सवै सीमा नाका खुल्ला गरिएपछि नेपाल तर्फको व्यापार ह्वात्तै घटेको छ । नेपालीहरुको महान चाड दशैँ, तिहार, छठलगायतका चाडपर्व नकिँदै गरेका बेला सरकारले देशभरका सवै सीमा नाका खुल्ला गरेपछि नेपाल तर्फको व्यापार व्यवसाय ह्वात्तै घटेको हो ।

सर्वसाधारणका लागि नाका खोलिएपछि चाडपर्वका लागि किनमेल गर्न जाने भारतीय जोगबनी बजारमा नेपाली उपभोक्ताको भीड लाग्न थालेको छ । नेपाली उपभोक्ताको भीड बढेपछि सीमापारीका व्यवसायी उत्साहित भएका छन् भने विराटनगरका ब्यवसायी निराश भएका छन्।

विराटनगरको रानी नाका खुलेपछि सीमावर्ती भारतीय बजार जोगबनीका व्यापारी उत्साहित भएका छन् । जोगबनी बजारमा करिब ९० प्रतिशत उपभोक्ता नेपालबाटै पुग्ने गरेका छन् चाडपर्व नजिकिदै गर्दा यतिबेला जोगबनी बजार नेपाली उपभोक्ताको भीडले खचाखच भरिएको हुन्छ ।
तर, यसको प्रत्यक्ष असर विराटनगरलगायत नेपाली बजारमा देखिएको छ । एक त कोरोना महामारीले थलिएको वयापार त्यसमाथि अधिकांश ग्राहक जोगबनी पुग्न थालेपछि यताका ब्यापारी चिन्तित भएका छन् ।

नजिकिँदो चाडपर्वमा राम्रो ब्यापार हुने अपेक्षा गरेका वयापारीहरु उपभोक्ताको चाप जोगबनीमा बढ्दै गएपछि निराश भएका हुन् । पछिल्लो समय जोगबनी बजारमा किनमेल गर्ने नेपाली उपभोक्ताको भीडले जोगबनीमा खुट्टा टेक्ने ठाउँ हँुदैन भने विराटनगरका पसलेहरु ग्राहक कुरेर बसिरहेका हुन्छन् ।

कोरोना महामारीमा सीमा बन्द हुँदा सम्म यसअघि राम्रै चलेको व्यापार रानी नाका खुलेपछि ५० प्रतिशत घाटामा झरेको विराटनगरका व्यवसायी घनश्याम अग्रवाल बताउँछन् ।

व्यापारि मयंक अग्रवालले चाडवाड नजिकिँदै गर्दा जोगबनी नाका खोलीएपछि विराटनगरको व्यापार ठप्प जस्तै भएको बताए । उनले जोगबनी नाका खुल्ला गरिएपछि स्वदेशी बजार मारमा परेको गुनासो गरे ।

विराटनगरकै व्यापारि निर्मल अटलले सीमा नाका खुल्ला गरिएपनि किनमेलका लागि जोगबनी पुग्नेलाई कडाई गरि भन्सार राजश्व संकलन गर्नुपर्ने बताए ।

मोरङ जिल्लाभरि लगभग ६० हजार खुद्रा ब्यापारीहरु रहेका छन् । ती ब्यापारी कहाँ साढे चार देखि ५ लाखले रोजगारीसमेत पाएका छन् । रानी नाका खुल्नु अघि विराटनगरमा दैनिक ४० देखि ५० करोडसम्मको ब्यापार हुँदै आएकोमा पछिल्लो समय ५० प्रतिशतले घटेको व्यापारीहरुले बताएका छन् ।

व्यवसायीहरुले भन्सार महशुल तिरेर सामान ल्याउनुपर्ने भएकाले भारतीय बजारको तुलनामा नेपालतर्फ केही महँगो पर्छ । तर, जोगबनी गएर सामान ल्याउने उपभोक्ताले भन्सार नै नतिरी ल्याउँदा सस्तो पर्ने भएकाले सामान किन्ने उपभोक्ता सिधै जोगबनी पुग्छन । मोरङको बेलबारीबाट सामान किन्न जोगबनी बजार पुगेर फर्कदै गरेकी युनिसा शिवाले भारतमा सस्तो मुल्यमा सामान पाइने भएकाले जोगबनी सामान किन्न आएको बताइन् ।

दैनिक ठूलो संख्यामा नेपालीहरु किनमेलका लागि जोगबनी जाने गरेकोले सोही अनुपातमा नेपाली मुद्रा पनि विदेशने गरेको छ । दसैं–तिहारलगायतका ठूला चाडवाड नजिकिँदै गए पनि विराटनगरसहित नेपाली बजारको व्यापार खासै फस्टाउन सकेको छैन । सरकारले साना व्यवसायीलाई टिकाउने नीति नबनाए स्वदेशी व्यापार व्यवसाय धारासायी हुने र व्यवसायी पलायन हुने खुद्रा व्यापार संघका अध्यक्ष संजयकुमारसिंह मण्डल बताउँछन् ।

त्यसो त विराटनगर बजार मात्र नभई सवै सीमा नाका खुल्ला भएपछि दक्षिणी मोरङका सीमावर्ती बजार पनि सुनसान जस्तै देखिन थालेको छ । स्थानीय उपभोक्ता सस्तोमा सामान पाउने भन्दै सीमावर्ती भारतीय बजारमा पुगेर किनमेल गर्दा नेपाल तर्फको व्यापारमा कमी भएको हो ।

मोरङका मुख्य साहायक नाका रंगेली, सुनवर्षी, डोरीयालगायतका नाकाबाट दैनिक हजारौँको संख्यामा नेपाली उपभोक्ता भारतीय बजार पुग्ने गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार सवै नाका खुल्ला भएपछि तस्करीमा समेत बृद्धि भएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरु शसस्त्र र नेपाल प्रहरीसँगकै मिलेमतोमा सकृय भएको मोरङको सुनवर्षीका एक स्थानीयले बताए ।

Featured