देश

कानुन निर्माणमा नागरिक सहभागिताको माग

सुर्खेत, भदौ १३–कर्णालीमा कानुन निर्माण गर्दा नागरिकको राय लिनुपर्ने माग उठेको छ । बिहीबार सुर्खेतमा आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले विधेयक ल्याउनुपूर्व व्यापक छलफल हुनुपर्ने बताएका हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक कमलराज लम्सालले भने, ‘सरकारले निर्माण गर्ने महत्वपूर्ण कानुनमा नागरिकको सहभागिता आवश्यक छ ।’ काुननको ड्राफ्ट लुकाउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

पारदर्शी रुपमा बनाएको कानुनमा कम त्रुटि हुने पनि लम्सालले बताए । अधिवक्ता रमा प्याकुरेलले खुल्ला संसद अवधारणाले भ्रष्टाचार जस्तो जघन्य अपराधको न्यूनिकरण हुने बताइन् ।

नागरिकको सूचना लिन पाउने अधिकारमा सरकार चुक्न नहुने उनको तर्क छ । नागरिक सरोकार संघका पीताम्बर ढकालले संविधानमा भएका कुराहरुलाई कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा सहभागी अधिकांशले खुला संसद्को अवधारणालाई कर्णाली प्रदेश सरकारले अवलम्वन गर्नुपर्नेमा जोड दिएका थिए ।

Featured