देश

अछाममा आत्महत्या क्रम बढ्दो, एक वर्षमा मात्र १९ जनाको मृत्यु

अछाम, भदौ १३-पछिल्लो समय अछाममा आत्महत्या गर्ने क्रम धेरै मात्रामा बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकले यस्तो देखाएको हो।

प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र अछामा १९ ले आत्महत्या गरेका छन्। चालु आर्थिक वर्षमा मात्र अछाममा दुई महिनामा एक जनाले आत्महत्या गरेका छन्।

आफ्नो सामान्य समस्यालाई पनि ठूलो रूपमा लिनुका कारण अछाममा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए।

उनका अनुसार आत्महत्याका घटना केलाउँदा केहीले विष खाएर र धेरैले झुन्डिएर आत्महत्या गर्ने गरेको पाइएको छ।

घटना अध्ययन गर्दा लागुपदार्थ प्रयोग, गरिबी, घरायसी विवाद, पारिवारिक कलह, अशिक्षा, सामाजिक सञ्जालको प्रयोग तथा मानसिक स्थिति कमजोर हुनु प्रमुख कारण रहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।

आर्थिक अभाव हुनु र घरपरिवारबाट सहयोग नहनहुँदा पनि आत्महत्या गर्ने गरेको पाइएको उनको भनाइ छ।