विराटनगर, भदौ १३–प्रदेशसभाका सांसद बिमल कार्कीले भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको कृषि अनुदान तथा पशुपालनसम्बन्धी अनुदानका कार्यक्रमबारे पुनरावलोकनको माग गरेका छन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै कार्कीले विचौलियाका लागि अवसर दिने खालको कार्यविधिमा टेकेर कार्यक्रम घोषणा गरिएको भन्दै यसको पुनरावलोकनको माग गरेका हुन् ।
उनले कार्यक्रमले साना किसानलाई पनि समेट्न नसकेको र ठूला किसानलाई पनि समेट्ने खालको नभएको दाबी पनि गरे । उनले भने,‘यसले सना पनि ठुला पनि कुनै किसिमले समेट्न सकेन । त्यसैले यसको पुनरावलोकन गरियोस ।’
संसदमा बोल्दै सांसद कृष्ण कुमारी राईले लोकसेवा आयोगले समावेशी ढंगले विज्ञापन जारी गर्न नसेको र प्राप्त उपलब्धी गुम्न लागेको भन्दै प्रदेश सरकारले आवाज उठाउनु पर्नेमा जोड दिइन् ।
यस्तै सांसद सन्जा दनुवारले समावेशीताको मुद्दा उठाउने कम्युनिष्टहरुले अहिले किन छोडेको भन्दै प्रश्न गरे । यस्तै सांसद केदार कार्कीले विराटनगरको सत्यनारायण मन्दिरको जग्गा हडपेर किनबेच गरिएको भन्दै त्यसममा मालपोत कार्यालय, विराटनगर महानगरपालिकाको समेत मिलेमतो रहेको कारण त्यसलाई रोक्न माग गरे ।
यता सत्तारुढ सांसद सर्वध्वज साम्बाले सडकका खाल्डाखुल्डीलाई भुइँ चट्यांङको संज्ञा दिँदै त्यसले दिनदैनिक मानिसको ज्यान लिइरहेको र करोडौंका सवारी साधनलाई कवाडी बनाएको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
संसदमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सचेतक सूर्यमाराज राईले मोरङको पथरी र कानेपोखरीमा सुकुम्बासी समस्या लामो समयदेखि रहेको भन्दै समाधानको माग गरे ।
३० वर्षदेखि बामपन्थीहरुले विजय प्राप्त गरेको उक्त क्षेत्रका जनताको समस्या समाधानमा भन्दा भोटबैंकको लागि नेकपाले मुद्दा उठाउने गरेको भन्दै उनले आगामि दिनमा त्यसो गरे जनताले नछोड्ने चेतावनी पनि दिए ।
प्रदेशसभाको बिहीबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले ‘प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, २०७६’ लाई प्रस्ताव स्वरुप प्रस्तुत गरेका छन् । यस्तै प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिले प्रतिवेदनसहित ‘विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सभामा पेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस