देश मनोरंजन

मोरङका १० मध्ये तीन प्रदेश सांसदले रोजे एकीकृत समाजवादी

विराटनगर, २३ भदौ । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने जिल्ला मानिएको मोरङमा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीमा तीन प्रदेश सांसदसहित ११ जनाले सनाखत गरेका छन् ।

प्रदेशसभामा एमालेका प्रत्यक्ष र समानुपातिक १० सांसद थिए । त्यसमध्ये मोरङ क्षेत्र नं. १ (ख) प्रत्यक्ष निर्वाचित सांसद उपेन्द्र घिमिरे, समानुपातिक सांसद कृष्णकुमारी राई र साबित्रा रेग्मीले सनाखत गर्दै एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

उनीहरूले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य दल विभाजनसँगै अल्पमतमा परेको सन्देश दिन १६ भदौमा सनाखत गरेका थिए । सोही दिन उनीहरूसहित प्रदेश १ का जम्मा १० प्रदेश सांसदले सनाखत गरेका थिए । उक्त संख्या निर्वाचन आयोगको समयसीमा भित्र बढ्ने बताइएपनि अन्तिम दिन मंगलबारसम्म पनि अन्य कसैले सनाखत गरेनन् ।

त्यस्तै निर्वाचन आयोगले दल रोज्न दिएको मंगलबार अन्तिम दिनसम्म स्थानीय तहका आठ जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी रोजेका छन् । मोरङका कुनैपनि पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले समाजवादीमा सनाखत गरेनन् ।

एकीकृत समाजवादी रोज्नेमा बुढीगंगा गाउँपालिका–४ का अध्यक्ष कासिम मिया, बुढीगंगा–५ का वडाध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका– १ का वडाध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका– १० का अध्यक्ष टंक ढकाल रहेका छन् । त्यस्तै मोरङबाट ४ जना वडा सदस्यहरुले मात्र नयाँ दल रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

माधव नेपालका ‘हार्डलाईनर’ मेयरहरुलेनै छाडे साथ 

माधव नेपालको पक्षमा रहेका ‘हार्डलाइनर’ मेयरहरुले नै उनको साथ छाडेका छन् । यसअघि माधव नेपालको पक्षमा कडारुपमा उत्रँदै आएका पथरीका मेयर दिलिप राई र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी एमालेमै बसेका हुन् । माधव समूहमै रहेकी केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेल पनि एमालेमै बसेकी छन् ।

Featured