देश

सामाजिक उद्यम प्रतियोगिताको उपाधि ‘डुलुवा’लाई

काठमाडौं, भदौ १३–राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवाले हात पारेको छ। युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्धेश्यले काठमाडौंमा आयोजित प्रतियोगितामा दोस्रो ‘डिजिटल साथी’ र तेस्रो ‘आवास’ भएका छन्।

बुधबार र बिहिबार दुई दिन सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशबाट दश उद्यमी समूह सहभागि थिए । उपाधिसँगै डुलुवाले नगद एक लाखसँगै सम्मानपत्र पाएको छ भने स्वीट्जरल्याण्डमा आयोजना हुने विश्व उद्यमशीलता फोरममा सहभागि हुने अवसर पनि पाएको आयोजक संस्था आयोनका अध्यक्ष जगदीश ऐरले जानकारी दिए।

दोस्रो र तेस्रो हुने समूहले पनि नगद ५० हजारसहित युथ कोस् ल्याव समिटमा सहभागी हुने अवसर पाउनेछन्। उत्कृष्ट पाँचमा एसएमवीपी र र इम्प्याक सिड परेका थिए।

उत्कृष्ट पाचँमा पर्न सफल समूहलाई नगर रू ५० हजार प्रदान गरिएको थियो। आयोजकले करिब दुई महिनाको समय लगाएर सातवटै प्रदेशबाट १५० भन्दा बढी युवा उद्यमी समुहहरूबाट उत्कृष्ट १० युवा उद्यमीको छनोट गरेको थियो। उत्कृष्ट दश युवा समुहहरुबीच अन्तिम प्रतिस्पर्धा गरिएको हो।

कार्यक्रममा उत्कृष्ट १० युवा उद्यमीका समूहले आ–आफ्ना उद्यमका बारेमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममार्फत सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान गरेको आयोजकको विश्वास छ ।

पुरस्कृत हुने समुहलाई युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले सम्मान गरेका थिए। उनले विकास र समृद्धको अभियानमा युवा जनशक्तिको परिचालन अपरिहार्य रहेको बताए।

आयोनका अध्यक्ष ऐरले युवाका नवीन सोचलाई व्यावसायिक बाटो देखाउन कार्यक्रम आयोजना गरिएको बताए। “यस कार्यक्रमले उद्यम गरिरहेका युवाहरूलाई अन्तर्रा्ष्ट्रिय मञ्चमा प्रस्तुतिको अवसर प्रदान गरेको छ,” उनले भने ।

यूएनडीपी नेपालको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन), राष्ट्रिय युवा परिषद् र युनुस सोसियल बिजनेस सेन्टर किंग्स कलेजको आयोजनामा तेस्रो युथ कोः ल्याब तथा चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिता आयोजना गरिएको थियो।