देश

सांसदको प्रश्नः अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ?

काठमाडौं, भदौ १२–राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको लागि विदेश जानुअघि उपप्रधानमन्त्रीलाई कार्यवाहक दिएपछि हाल कार्यवाहक कायम छ कि छैन भनेर प्रश्न गरेका छन् ।

बिहीबार सदनको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले भने, ‘उपप्रधानमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर विदेश गएपछि विदेशबाटै मन्त्रिपरिषद्को बैठक बसिसकेपछि मुलुकमा कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ?’

प्रधानमन्त्रीले कार्यवाहक दिएपछि आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेकाले फेरि कार्यवाहक दिएको सदनलाई थाहै नभएको अधिकारीले बताए । उनले मुलुकको शासन प्रधानमन्त्रीले कि कार्यवाहक प्रधानमन्त्रीले चलाएको भन्नेमा सार्वभौम संसद अलमलमा परेको जनाए ।

उनले प्रधानमन्त्रीले विदेशमा बसेर भिडियो कन्फ्रेन्स गरेर मन्त्रिपरिषद् बैठक बस्नु तीन कारणले आपत्तिजनक भएको बताए । अधिकारीले औपचारिक रुपमा विदेशमा बसेर मन्त्रिपरिषद्को बैठक बस्न सक्छ कि सक्दैन भन्ने विषय अस्पस्ट भएको दावी गरे ।

‘मन्त्रिपरिषद्को गोपनियताको कुरा हो । इन्टरनेटको माध्यमबाट गरिने यस्तो कार्यमा गोपनियता धरापमा पर्छ भन्ने कुरा जान्न आईटीको विद्यार्थी हुनु पर्दैन,’ अधिकारीले भने, ‘गोपनियता सम्वन्धि कानूनमा धेरै त्रुटी छ । सरकारको यस्तो गल्ती अवदेखि नदोहोरियोस ।’

उनले २००७ सालदेखि छुवाछुत भन्दै नेपाली कांग्रेसले अभियान चालेको, सरकारले २०२० सालमा मुलुकी ऐन बनाएको र १ भदौलाई मुक्ति दिवस मनाए पनि समाजमा दलितमाथिको विभेदको अन्त्य नभएको गुनासो गरे ।

उनले दलितलाई मूलधारको राजनीतिमा ल्याउन नसक्नु राज्य र राजनीतिक दलको असफलता भएको बताए । छुवाछुत मान्नु धर्म होइन, अधर्म हो भन्ने सामाजिक मान्यता स्थापित गर्न नसके ४० लाख जनसख्या विभेदमै पर्ने दाबी गरे ।