देश

सटर फोरेर चोरी डकैती गर्ने गिरोह पक्राउ

विराटनगर, भदौ १२–सटर फोरेर चोरी डकैती गर्दै आएको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएको ७ जनाको गिरोहमा ३ भारतीय र ४ नेपाली छन् । उनीहरुले विभिन्न मितिमा विराटनगर महानगरपालिकाभित्रका ४ वटा सटर फोरेर लाखौं रुपैयाँ चोरी गरेको जनाइएको छ ।

गिरोहले विराटनगर–२ शनिहाटमा रहेको पञ्चकन्या ट्रेड लिंकमा साउन २३ गते बिहान ४ बजेको समयमा सटर फुटाई ५ लाख ९५ हजार रुपैयाँ चोरी गरेका थिए । सोहि समयमा नजिकै रहेको गणनायक मार्केट्रिङमा समेत सटर फुटाएर ४ लाख चोरी गरेका थिए ।

अभियुक्तहरुले भदौ–९ गते विराटनगर–७ स्थित कदमाहा कृषि सहकारी संस्था लिमिटेडबाट ४ लाख ९५ हजार र भदौ १० गते विराटनगर–७ कै माँ भवानी इन्टरप्राईजेजबाट ६ लाख चोरी गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको छ । पक्राउ गरिएका अभियुक्तहरुमा मधुबनी, कटैया ग्राम पञ्चायत–३ भारतका ३५ वर्षीय धमेन्द्र कामत, सोही ग्राम पञ्चायत–१ बस्ने ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुबनी लदौत ग्रामपञ्चायत–६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन् । यसैगरी रौतहट गौर नगरपालिका वडानम्बर ३ का ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, सोही ठाउँका ५० वर्षीय बलराम क्षेत्री, ब्रम्हपुरी गाउँपालिका वडानम्बर ४ बस्ने ५२ वर्षीय सेख मोहम्मद सलिफ र ४६ वर्षीय शेख अलि असगर छन् ।

पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक विश्व अधिकारीले अभियुक्तहरुले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट जोगबनीको बाटो विराटनगर प्रवेश गरेर रातको समयमा चोरी गर्दै आएको बताए । अभियुक्तहरु समूहमा हिंड्ने र गोल्ड कटरबाट सटरको ताला काटेर चोरी गर्दै आएको बताए । भदौ ११ गते प्रहरीले पथरी शनिश्चरे नगरपालिका १ बाट उनीहरुलाई पक्राउ गरेको अधिकारीले जानकारी दिए ।

प्रहरीले अभियुक्तहरुको साथबाट घटनामा प्रयोग गरिएको बी आर ३२ पीए २८३६ नम्बरको स्कार्पियो गाडी, ७ थान मोबाइल, नेपाली र भारतीय सिमकार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, तन्नालगायतका सामग्रीसमेत बरामद गरेको छ । घटनाका मुख्य अभियुक्त मानिएका मधुबनी भारतका मोहम्मद कलाम फरार रहेका कारण सोही व्यक्ति रकम लिएर फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।