विदेश

मेक्सिकोको बारमा आगजनी हुँदा २६ को मृत्यु

मेक्सिको, एजेन्सी, भदौ १२-मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा भएको घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ।

अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु ११ जना सिकिस्त घाइते भएका छन्। घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको अधिकारीहरुको भनाइ छ। कोट्जाकोल्कोस शहरमा घटना भएको हो।

‘क्रुर व्यक्तिहरुले आगो लगाउँदा गरेर घटना भएको हो,’ स्थानीय सरकारी अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।केहि व्यक्तिहरूले बारमा छिरेर प्रवेशद्वार र आपतकालिन ढोका समेत लगाएर आगो लगाउँदा सो घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

घटनामा परी मृत्यु भएका र घाइते भएकाहरूका आफन्त घटनास्थलमा विक्षिप्त अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन्। घटना भएको बारमा काम गर्ने एक महिलाले आँत्तिदै र चिच्याउँदै भन्दै थिइन्, ‘मेरो छोरो ठिक छ की छैन, उस्लाई केही भएको छ की छैन?’

बारमै रहेका उनको छोरो पनि घाइते भएपछि अस्पताल लगिएको थियो। घाइतेहरुलाई उद्धार गर्न प्रहरीको ठूलो टोली आएको थियो। घटना भएको क्षेत्र देशमै अत्यधिक धेरै हिंसात्मक घटना हुने क्षेत्रका रुपमा चिनिने गरेको समाचारमा जनाइएको छ।

Featured