देश

चितवनका एसपी मल्लको नाममा नक्कली फेसबुक खोलेर अश्लिल स्टाटस

काठमाडौं, भदौ १२-चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’ राखिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ।

चितवन प्रहरीले नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल स्टाटस र फोटो पोष्ट गर्ने कार्यमा संलग्नमाथि अनुसन्धान भइरहेको जनाएको छ।

आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले खोलिएको नक्कली अकाउन्टबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतबाट अनुसन्धान भइरहेको एसपी मल्लले बताए। घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरमा ल्याउने एसपी मल्लले जनाए।

रवि लामिछाने पक्राउ परेसँगै रविका फ्यानहरुले एसपी मल्लविरुद्ध नाराबाजी लगाउँदै राजीनामाको माग समेत गरेका थिए। सो समयमा विभिन्न व्यक्तिहरुसँग नाम जोड्दै सामाजिक सञ्जालमा एसपी मल्लको आलोचना पनि भएको थियो।

लगत्तै रवि लामिछाने पक्राउ परेको भोलिपल्ट अर्थात साउन ३१ (अगस्ट १६) मा एसपी मल्लको नाममा उक्त फेसबुक आईडी खोलिएको बताइएको छ। जसबाट मल्लको चरित्र हत्या हुनेगरी विभिन्न फोटो र स्टाटसहरु हालिएका हुन्।

Featured