देश

वैकल्पिक सडक नहुँदा बालकोट–सिरुटारका बासिन्दालाई सास्ती

काठमाडौँ, भदौ १२–सुर्यविनायक नगरपालिका–२ स्थित बालकोट–सिरुटार सडक विस्तार, ढल व्यवस्थापन एवं कालोपत्रे गर्ने काम सुरु भएको छ । मध्यपुरथिमिको कौशल्टारबाट बालकोट, सिरुटार हुँदै बिरुवा जाने एक मात्र मूल सडकका रुपमा रहेको यो सडक खण्डको बालकोटमा सडक विस्तार सुरु गरिएको हो ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा केन्द्रीय सरकारको ५ करोड रूपैयाँको लागतमा बालकोटको पाटीधारादेखि सिरुटारको सिमानासम्म सडक विस्तार सुरु गरिएकामा प्रदेश नं ३ का प्रदेशसभा सदस्य शशिजंग थापाको पहलमा प्रदेश सरकारबाट आएको १ करोड रूपैयाँको लागतमा सडक सीमांकन एवं ढुंगाको पर्खाल लगाउने काम सकिएको र अहिले ढल व्यवस्थापन एवं कालोपत्र गर्न थालिएको छ ।

‘पाटीधारादेखि सिरुटारको सिमानासम्म ढल हाल्ने काम भइरहेकाले आगामी कात्तिक अन्तिमसम्ममा ढल व्यवस्थापन, सडक कालोपत्र र फुटपाथ निर्माण गरी हस्तान्तरण गरिसक्ने गरी सम्झौताअनुसार काम भएको छ,’ प्रदेशसभा सदस्य थापाले जानकारी दिए । सडक विस्तार सुरु भएसँगै कौशलटार, बालकोट, सिरुटार जाने सडक बन्द भएको छ । बिरुवाबाट सिरुटार हुँदै रत्नपार्क जाने सार्वजनिक यातायातका साधनका साथै स्थानीयवासीका निजीसवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् ।

वैकल्पिक सडकको व्यवस्था नहुँदा एम्बुलेन्ससमेत रोकिएका छन् । स्थानीयले भने वैकल्पिक सडक नभएकाले ढल हाल्ने कार्य तत्काल सम्पन्न गरी थुपारिएको माटो सम्याएर एकतर्फी भए पनि सडक सञ्चालन गर्न माग गरेका छन् । स्थानीय भूपाल गिरीले वैकल्पिक सडक नहुँदा बालकोट, सिरुटादेखि बिरुवासम्मका बासिन्दालाई समस्या भएकाले जतिसक्दो छिटो सडक खुलाउने गरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको बताए ।

दसैं र तिहारजस्ता महत्वपूर्ण चाडसमेत नजिएकाले दसैंसम्म दुईतर्फी सडक सञ्चालन गर्न नसके निकै सास्ती पर्ने भन्दै छिटो काम सम्पन्न गराउन निर्माण कम्पनीलाई स्थानीय जनप्रतिनिधिले दबाब दिनुपर्ने बालकोटमा सुशान्त कार्कीले जानकारी दिए । (रासस)