देश राजनीति

प्रचण्डलाई सांसद श्रेष्ठको चुनौती- सक्नुहुन्छ भने एक्लै एमालेको कुनै पनि सदस्यसँग प्रतिस्पर्धा गर्न आउनुस्

नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेको कुनै पनि सदस्यसँग एक्लै प्रतिस्पर्धा गरेर देखाउन चुनौती दिएका छन् ।

राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले कसैको समर्थन र सहयोग नलिएर एमालेको कुनै पनि सदस्यसँग प्रतिस्पर्धा गर्न प्रचण्डलाई चुनौती दिएका हुन् ।

उनले एमाले प्रतिस्पर्धामा कहिल्यै पनि पछि नपर्ने पनि बताए । ‘म प्रचण्डजीलाई चुनौती दिन चाहन्छु । सक्नुहुन्छ भने तपाईं कसैको सहयोग र समर्थन नलिएर सिंगो प्रतिस्पर्धा एमालेको कुनै पनि सदस्यसँग गर्नुस्,’ उनले भने ।

प्रचण्डले माओवादी केन्द्र भनेको आगो हो भनेकोप्रति कटाक्ष गर्दै सांसद श्रेष्ठले आफ्नो पार्टीलाई आगोसँग कसरी खेल्नुपर्छ भन्ने राम्रोसँग थाहा भएको बताए ।

‘प्रचण्डजीले माओवादी केन्द्र भनेको आगो हो भन्नुभएछ । कसलाई भन्न खोज्नु भएको हो,’ उनले भने, ‘यदि एमालेलाई भनेको हो भने जनताले तपाईंलाई कहाँ राखेका छन् भन्ने हेक्का आफैँ राख्नुस् ।’

उनले एमालेसँग एकल प्रतिस्पर्धा गर्न पनि चुनौती दिए । ‘कसको पक्षमा कति जनमत छ भन्ने फैसला चुनावबाट हुन्छ,’ उनले भने, ‘चुनावमा जाऔँ, सिंगल–सिंगल प्रतिस्पर्धा गरौं । कस्तो पक्षमा कति जनमत छ भन्ने हामी देखाउँछौँ ।’

उनले सर्वोच्च अदालतको फैसलाले बहुलवादको उपहास गरेको टिप्पणी गरे । ‘दलको सदस्यलाई त्यो पार्टीको ह्वीप लाग्दैन भने हामी कस्तो बाटोमा जाँदैछौँ । न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकालाई हस्तक्षेप गरेको छ,’ उनले भने ।

Featured