पोखरा, भदौ १२– केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन् ।
पोखरा–१० बुद्धचोक बस्ने ४० वर्षीय राजु तामाङ पोखरा बजारमा माछा बिक्री गरेर मासिक २० हजार रूपैयाँभन्दा बढी आम्दानी गरी अरुका लागि पनि अनुकरणीय बनेका छन् । बिहान उठ्नेबित्तिकै बस चढेर पोखराको लेखनाथस्थित बेगनासतालमा रहेको अन्नपूर्ण माछा फार्ममा पुगी खरिद गरिएका माछा साइकलमा बोकेर बजारमा बेच्नु उनको दैनिकी हो ।
नुवाकोट बेलकोट नगरपालिका–९ स्थायी घर भएको बताउने उनी पोखराको लेकसाइड, बिरौटा, रामबजार, आँखा अस्पतालचोकलगायत विभिन्न स्थानमा ‘लौ आयो लोकल ताजा माछा’ भन्दै बिहानै सडकमा भेटिन्छन् । आँखा अस्पतालचोकमा सोमबार बिहानै माछा बिक्रीका क्रममा सरसफाइ गरिरहेको अवस्थामा भेटिएका तमाङले भने, ‘दैनिक २० देखि २६ किलोग्राम माछा खरिद गरी प्रतिकिलो ४ सय रूपैयाँमा बेच्ने गरेको छु, म पेसाप्रति सन्तुष्ट छु ।’
स्वदेशमा जीविकोपार्जनका लागि अप्ठेरो परेपछि विदेश जानका लागि पासपोर्टसमेत बनाएको बताउने उनले परिवारसँगै बसेर बिहानको करिब चार घण्टा बजारमा डुली आम्दानी गर्दा आफूलाई सुखको अनुभूति भएको सुनाए । उनले आजभन्दा चार वर्षअघि फेवातालको खपौंदीबाट माछा खरिद गरी बिक्री गर्न सुरु गरेका हुन् ।
त्यस अवधिमा ३० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको अनुभव सुनाउँदै उनले उक्त क्षेत्रमा जलाहारी समुदायका महिला फुर्लुङमा माछा बेच्ने हुँदा माछा पाउनै असहज भएपछि विकल्पका रूपमा आफू अन्नपूर्ण फार्मतर्फ लागेको बताए । पोखरीमा हुर्केका रेवाजातका माछा पोखरेलीले मन पराउने गरेका कारण पनि खरिद गरिएका माछा सबै बिक्री हुने गरेको उनको भनाइ छ ।
‘बिक्रीसँगै सरसफाइसमेत आफैँले गरिदिने भएकाले माछाको माग दिनप्रतिदिन बढ्दै गएको छ,’ उनले थपे । उनका दुई छोरा र छोरी स्कुल पढ्न जान्छन्, श्रीमतीले बुद्धचोकमा फलफूल तथा तरकारी बिक्री गर्दै आर्की छन् । जीविकोपार्जन राम्रैसँग चलेको छ । साइकलको अगाडि ह्यान्डलमा झुन्ड्याएर र पछाडि क्यारेटमा एक(एक किलोको पोका बनाएर बजार डुलाउँदै आएका उनले सरसफाइबाट निस्कने फोहरसमेत साइकलमै राखेर उचित स्थानमा व्यस्थापन गर्दै आएको जानकारी दिए ।
पोखरा महानगरपालिका–१७ आँखा अस्पतालचोकमा कार्की रेस्टुरेन्ट सञ्चालन गर्दै आएका डिलमाया कार्कीले माछा स्वादिष्ट र सरसफाइसमेत गरिदिने भएका कारण उनलाई तामाङबाहेक अरुसँग माछा किन्न मन नलाग्ने बताइन् । पोखरा बजारमा अहिले भारतबाट आएका माछालाई ‘लोकल’ भनेर बिक्री गर्नेको संख्या ठूलै भएको बताउँदै उनले भनिन्, ‘तामाङ भाइले ल्याएको माछा धेरैले रुचाउने गरेका छन् ।’
पोखरा उपत्यकामा साना–ठूला गरी नौ वटा ताल र विभिन्न खोलाका कारण यहाँ माछा राम्रै उत्पादन हुन्छ । मानव स्वास्थ्यको लागि समेत उपयुक्त हुने भएको र माग पनि बढ्दै गएका कारण पछिल्लो समय युवाको व्यावसायिक माछापालनप्रति आकर्षण बढेको छ । रासस
प्रतिक्रिया दिनुहोस