देश

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेस हुँदै

काठमाडौं, भदौ १२–संसद सचिवालयमा दर्ता भएको तीन महिनापछि मिडिया काउन्सिल विधेयक आज राष्ट्रिय सभामा पेस हुने भएको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले आजको राष्ट्रिय सभा बैठकमा विधेयक पेस गर्ने कार्यसूची रहेको छ।

विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रताविरोधी हुनुका साथै सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने खालका रहेको भन्दै नेपाल पत्रकार महासंघलगायत विभिन्न संघसंगठनहरुले विधेयकको विरोध गर्दै आएका थिए। विधेयकलाई लिएर चौतर्फी आलोचना भएपछि सरकारले यसलाई अगाडि बढाएको थिएन।

विधेयक वैशाख २७ मै राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको थियो। नेकपाका नेताहरूले पत्रकार महासंघको मागबमोजिम विधेयकमा रहेका विवादित प्रावधानहरु सच्याइने लिखित प्रतिबद्धता जनाएका थिए।

राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल देवकोटाले महासंघसँग गरिएको प्रतिबद्धताअनुसार विधेयकमा संशोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । ‘महासंघसँग गरिएको प्रतिबद्धताअनुसार प्रतिपक्षसँगको सहमतिमा विधेयकमा आवश्यक संशोधनहरू गरिनेछ,’ उनले भने ।