खेलकुद विदेश

आयाक्स च्याम्पियन्स लिगमा छनोट

काठमाडौं, एजेन्सी, भदौ १२-गत सिजन प्रभावशाली तथा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको नेदरल्यान्ड्सको आयाक्स क्लब यसपटक पनि च्याम्पियन्स लिग फुटबलमा छनोट भएको छ। आयाक्सले बुधबार राति भएको प्ले अफ खेलमा साईप्रसको एपोल निकोसिया क्लबलाई हराउँदै च्याम्पियन्स लिगको समूह चरणमा छनोट भएको हो।

आयाक्सले प्ले अफको दोस्रो लेगमा २–० गोलको प्रभावशाली जित निकाल्न सफल रह्यो। दुई टोलीबीचको पहिलो लेग गोल रहित बराबरीमा सकिएको थियो। आयाक्स समग्रमा २–० गोलले विजयी भयो। आयाक्सको जितमा ४३औ मिनेटमा एडसन अल्वारेजले हेड गोलमार्फत खाता खोले। उनले हाकिम जियचले फ्रिकिक पासमा गोल गरेका थिए।

८०औं मिनेटमा डुसान टाडिकले गोल गर्दै आयाक्सको जित सुनिश्चित पारेका थिए। आयाक्स अघिल्लो सिजन सेमिफाइनलमा इङ्लिस क्लब टोट्टनहामसँग पराजित भएको थियो। बुधबार रातिनै भएको अन्य प्ले अफ खेलमा क्लब बर्गले लास्कलाई समग्रमा ३–१ र स्लाभिया प्रागले सिएफआर क्लजलाई समग्रमा २–० गोलले हराउँदै समूह चरणमा स्थान बनाएका छन्।

Featured